हाम्रो परमेश्वर सबैभन्दा शक्तिशाली हुनुहुन्छ (उत्पत्ति १७:१; प्रकाश १५:३; १९:६)। उहाँको शक्ति असीमित भएको हुनाले उहाँले जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। यहोवा परमेश्वरले सुन्यताबाट हरेक थोक सृष्टि गर्नुभयो। परमेश्वरले तेस्रो स्वर्गदेखि लिएर अतलकुण्डसम्मका सबै थोकहरू बनाउनुभयो (एलोहिम, उत्पत्ति १:१; यूहन्ना १:३; कलस्सी १:१६; प्रकाश ४:११)। उहाँले आफ्नो सर्वोच्च शक्ति मानव इतिहासभरि आफ्ना सन्तानहरूलाई प्रकट गर्नुभएको छ।
परमेश्वरले आफ्ना सबै योजना र उद्देश्यहरू पूरा गर्नुहुन्छ (अय्यूब ४२:२)। हामीले मानवजातिको मुक्तिको प्रक्रियालाई हेर्दछौँ भने, स्वयम् परमेश्वरले मानवजातिलाई बचाउने योजना बनाउनुभयो (उत्पत्ति ३:१५), अनि परमेश्वर पुत्रले स्वयम् मानव शरीर धारण गर्नुभयो (मत्ती १:२१) र उहाँले नै व्यक्तिगतरूपमा मानवजातिको मुक्तिको उक्त योजनालाई क्रूसमा पूरा गर्नुभयो (यूहन्ना १९:३०)। यसर्थ, जब परमेश्वरले कुनै कुराको इच्छा गर्नुहुन्छ, तब कसैले त्यसलाई वाधा दिन अथवा रोक्न सक्दैन। उहाँको इच्छा अवश्य पूरा हुनै पर्नेछ (यशैया ९:६-७)।
त्रिएक परमेश्वरको निम्ति कुनै काम गर्न पनि गाह्रो हुँदैन (यर्मिया ३२:१७,२७)। मानिसहरूको लागि असम्भव सबै कुराहरू परमेश्वरको लागि सम्भव छन् (मत्ती १९:२६)। कन्या अवस्थमा हुँदा नै परमेश्वरले मरियमलाई येशू गर्भधारण गर्न लगाउनुभयो (लूका १:३७)। अब्राहाम र सारा बच्चा जन्माउन नसक्ने गरी बुढा-बुढी भइसकेका भए तापनि परमेश्वरले तिनीहरूलाई बालक दिने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति १७:१-२१; १८:१४)। परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसार अब्राहाम १०० वर्षको हुँदा तिनलाई छोरा, इसहाक दिनुभयो (उत्पत्ति २१:१-५)। आधुनिक विज्ञानले बुझ्न नसक्ने यस्ता कुराहरू परमेश्वरमा सम्भव हुन्छन्।
अर्को कुरा के हो भने यहोवा परमेश्वर सार्वभौम परमेश्वर हुनुहुन्छ। स्वर्गहरू र पृथ्वी सृष्टि गर्नुभएको समयदेखि अहिलेसम्म परमेश्वरले सारा सृष्टिमाथि शासन गर्नुभएको छ र उहाँले त्यसमाथि सदासर्वदा शासन गरिरहनुहुनेछ। परमेश्वर कहिल्यै थकित र कमजोर हुनुहुन्न (यशैया ४०:२८)। “परमेश्वर हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ” (प्रकाश १:८; ४:८)। समयभन्दा माथि रहेर उहाँले आफ्नो शक्ति र वैभवमा शासन गर्नुहुन्छ (प्रकाश ११:१७; १९:६; २१:२२)।
सार्वभौम परमेश्वरले आफ्नो इच्छाअनुसार सृष्टि गरिएका थोकहरूको अनन्त दण्डको निम्ति दोषी ठहर्याउने निर्णय गर्न सक्नुहुन्छ अथवा उहाँले तिनीहरूलाई छुटकारा दिन र बचाउन पनि सक्नुहुन्छ (यशैया ९:६; सपन्याह ३:१७)। आफ्नो इच्छाअनुसार उहाँले छान्नुभएको व्यक्तिको हृदय कठोर पार्ने निर्णय गर्न सक्नुहुन्छ (प्रस्थान ७:३; ९:१२; १४:४,१७; यशैया ६३:१७; रोमी ९:१८), अथवा दया देखाउन आफूले रोजेको कुनै व्यक्तिप्रति उहाँले दया गर्न पनि निर्णय गर्न सक्नुहुन्छ (प्रस्थान ३३:१९; रोमी ९:१८)। सार्वभौम परमेश्वरले कुनै मानिसद्वारा आफ्नो इच्छा पूरा गर्नको निम्ति उक्त मानिसको हृदयभित्र आफ्नो इच्छा राख्नु हुन्छ (प्रकाश १७:१७)। परमेश्वरले आफूसँग भएको कुराहरूमा आफूले चाहेजस्तो गर्न सक्नुहुन्छ (मत्ती २०:१५) – यस्ता कुराहरू परमेश्वरको आफ्नै सार्वभौमिकताभित्र पर्दछन्।
दाऊदले यसरी गवाही दिएका छन्: “जो परमप्रधानको शरणमा वास गर्दछ, त्यो मानिस सर्वशक्तिमान्को छत्रछायामुनि रहन्छ” (भजन ९१:१)। परमेश्वरको अनुमतिबिना उडिरहेको भङ्गेरा पनि जमिनमा खस्दैन (मत्ती १०:२९)। येशूको अनुमतिबिना मानिसको टाउकोको एउटा रौँ पनि नष्ट हुनेछैन (लूका १२:७)। त्यसकारण, जो-जो परमेश्वरद्वारा सुरक्षित भएका छन्, तिनीहरूसँग सर्वशक्तिमान् परमेश्वरको शक्ति पनि हुँदछ। त्यही कारणले गर्दा येशूले भन्नुभयो, “विश्वास गर्नेको लागि त सबै कुरा सम्भव छ” (मर्कूस ९:२३)। त्यसकारण यस्तो सर्वशक्तिमान् परमेश्वरलाई अनुभव गर्ने इसाईहरूले साँच्चै नै सृष्टिकर्ता परमेश्वरको साँचो खुसी र आनन्दको स्वाद चाख्दछ।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को शिक्षाहरूमा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ। परमेश्वरको महिमा होस्।।