AMI Nepal

News ख्रीष्टको रहस्य के हो ?

ख्रीष्टको रहस्य के हो ?

13 Feb 2026

ख्रीष्टको रहस्य के हो ?

बाइबलमा हामीले थुप्रै ठाउँमा ख्रीष्टको रहस्यको बारेमा पढ्छौँ (एफिसी ३:४, रोमी १६:२५-२६, मत्ती १३:११, १ कोरिन्थी २:७)। छोटकरीमा भन्‍ने हो भने, परमेश्‍वरको राज्यको सुसमाचार यहूदीहरूबाट सुरु भएर गैरयहूदीहरूकहाँ पुग्नुपर्छ भन्ने कुरा नै ख्रीष्टको रहस्य हो तर यसको लागि परमेश्‍वरले बनाउनुभएको क्रमिक योजनालाई हामीले बुझ्‍नु  अति आवश्यक छ । पुरानो करारमा हेर्ने हो भने यहूदीहरू परमेश्‍वरका चुनिएका मानिसहरू हुन् र परमेश्‍वरसँग उनीहरूको लामो प्रेम सम्बन्ध रहेको देखिन्छ तर नयाँ करारमा हेर्ने हो भने सुसमाचार यहूदीहरूमा मात्र सीमित नभएर उनीहरूद्वारा गैरयहूदीहरूमा पनि पुग्नुपर्ने परमेश्‍वरको इच्छा र योजनालाई देख्छौँ। यो रहस्यलाई यहूदीहरूको दृष्टिकोणबाट हेर्ने हो भने बुझ्न र स्वीकार गर्न गाह्रो हुन्छ किनभने यहाँ एउटा गहन प्रश्‍न खडा हुन्छ− कसरी यहूदीहरूभन्दा पहिले गैरयहूदीहरूले येशूलाई चिनेर उहाँबाट आशिष् पाउन सक्छन् त?

प्रेरित पावलको मनमा पनि यही प्रश्‍न थियो। तिन वटा मिसन यात्राहरूद्वारा पावलले सुसमाचार प्रचार गर्दैगर्दा, थोरै यहूदीहरूले मात्र सुसमाचारलाई ग्रहण गरे। तर बहुसंख्यक यहूदीहरूले पावल र उनको सहकर्मीहरूलाई सुसमाचारको लागि धन्यवाद दिनुको सट्टामा सतावट दिएर मार्न खोजे (प्रेरित १३:४-२१:१६, इ.सं. ४६-५७)। त्यतिबेला पावललाई ख्रीष्टको रहस्यको सही अर्थ स्वीकार गर्न गाह्रो परेको थियो। पावलले मुक्ति पूर्णरूपमा परमेश्‍वरको अनुग्रहबाट प्राप्‍त हुने कुरा हो भन्‍ने सत्यता अरूले भन्दा बढी र राम्रोसँग बुझेका थिए (रोमी ३:२४, एफिसी २:५-१०)। उनका आफ्नै मानिसहरू अर्थात् यहूदीहरूले सुसमाचारलाई इन्कार गर्नु भनेको तिनीहरू परमेश्‍वरबाट आएको मुक्तिको अनुग्रहबाट वञ्चित हुनु थियो।

रोमी ९ अध्यायमा पावलले यसै सन्दर्भमा केही जटिल प्रश्‍नहरू गर्दै अफसोस गरेका छन्। उनले त्यसको उत्तर कसरी पाए त भन्ने कुरा पनि त्यहाँ देख्न सकिन्छ। रोमी ९:१-३ मा पावल यसरी भन्छन्, “म ख्रीष्‍टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्‍मामा मलाई गवाही दिन्‍छ। मेरो हृदयमा असाध्‍य शोक र मनमा अटूट वेदना छ। म त यहाँसम्‍म पनि चाहन सक्‍थें, कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्‍बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्‍टबाट परित्‍यक्त होऊँ!”

पावलको यो भनाइ प्रभु येशूसँग गरिएको कडा अभिव्यक्ति हो। उनी यहाँ भन्छन्, कि हामी यहूदीहरू परमेश्‍वरले चुन्नुभएको विशेष जातिहरू हौँ। के तपाईंले हामीलाई बिर्सनु भयो? पावलले त्यहाँ यसरी दु:ख व्यक्त गरेका छन्, कि हे परमेश्‍वर, मेरा आफ्ना जातिहरूको उद्धार नभएको देख्नुभन्दा त बरु मेरो नाम जीवनको पुस्तकबाट हटाइदिनुहोस। यो उनको निकै भावुक र साहासिलो अभिव्यक्ति हो।

त्यसप्रकारले गुनासो गर्ने क्रममा उनले प्रभु येशूबाट महत्वपूर्ण प्रकाश पाउँछन्। त्यो के हो भने धेरै अगमवक्ताहरूले पहिले नै घोषणा गरेजस्तै, यहूदीहरूलेभन्दा पहिले गैरयहूदीहरूले सुसमाचार प्राप्‍त गर्नेछन्। यो परमेश्‍वरले पहिले नै तयार गर्नुभएको उहाँको ईश्‍वरीय योजना हो। परमेश्‍वरले यो योजना अब्राहामसँग बाँध्‍नुभएको करारमा प्रकट गरिसक्नुभएको थियो। अब्राहामभन्दा करिव ५०० वर्षपछि मोशालाई परमेश्‍वरले त्यही योजना प्रकट गर्नुभयो। व्यवस्था ३२:२०-२१ मा परमेश्‍वरले यसरी भन्नुभयो, “म तिनीहरूबाट आफ्‍नो मुख लुकाउनेछु अनि तिनीहरूको अन्‍त के हुनेछ, म हेर्नेछु। किनकि तिनीहरू उल्‍टा पुस्‍ताका हुन्, विश्‍वासघाती सन्‍तानहरू हुन्‌। जो ईश्‍वर होइन, त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु, समझै नभएको एउटा जातिद्वारा तिनीहरूको रीस उठाउनेछु।”

परमेश्‍वरबाट उक्त चेताउनी पाएको बेला मोशा १२० वर्ष पुगिसकेका थिए। त्यतिबेला उनी मरुभूमिको यात्रा गर्दा-गर्दा मृत्युको मुखैमा पुगिसकेका थिए। त्यो अगमवाणीको अर्थचाहिँ यस्तो थियो– चालिस वर्षको उजाडस्थानको यात्रामा यहूदीहरूले चट्टानलाई (अर्थात् यहोवा परमेश्‍वर येशूलाई) इन्कार गरे (व्यवस्था ३२:१५, १ कोरिन्थी १०:४)। उनीहरूले येशूलाई एकपटक होइन, दसपटक इन्कार गरे (गन्ती १४:२२,२३)। इस्राएलीहरूले आफूलाई बनाउनुहुने चट्टानलाई त्यागे (व्यवस्था ३२:१८)। तिनीहरूले विभिन्‍न किसिमका मूर्तिपूजा गरेर भूतहरूलाई बलि चढाए (व्यवस्था ३२:१७)। ती सबै दुष्ट कामहरूद्वारा इस्राएलीहरूले परमेश्‍वरलाई तुच्छ तुल्याएकोले उहाँ क्रोधित हुनुभयो (व्यवस्था ३२:१५, १६)। त्यसैकारण परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभयो (व्यवस्था ३२:१९)। तिनीहरूको सट्टामा परमेश्‍वरले एउटा समझै नभएको जाति अर्थात् अन्यजातिलाई (अर्थात् गैरयहूदीलाई) खडा गर्नुभयो। ती अन्यजातिहरूप्रति दया देखाउनु भएर उहाँले यहूदीहरूलाई डाही तुल्याउनुभयो (व्यवस्था ३२:२१)।

आत्मिक आँखा खोलेर धर्मशास्‍त्रलाई गहिरिएर नियाल्ने हो भने, यहूदीहरूले भन्दा पहिले गैरयहूदीहरूले सुसमाचारमा विश्‍वास गर्नेछन् भन्ने योजना सृष्टिभन्दा अघिदेखि नै तयार गरिएको थियो भन्‍ने सत्यता थाहा हुन्छ, तर त्यसलाई केही समयसम्म लुकाइएको थियो। समय आएपछि परमेश्‍वरले आफ्ना मानिसहरू− अब्राहाम, मोशा, दानिएल, होशे र यशैयालाई उक्त सत्यता क्रमिकरूपमा प्रकट गरिदिनु भयो।

अब हामी पुरानो करारमा उल्लिखित केही महत्वपूर्ण प्रकाशहरूलाई हेरौँ। मुक्ति कसरी यहूदीहरूबाट गैरयहूदीहरूमा जानेछ भन्‍ने रहस्य प्रभु येशूले थुप्रै व्यक्तिहरूलाई प्रकट गरिदिनुभयो।

यस सन्दर्भमा पहिलो प्रकाश मोशालाई दिइएको थियो।
“जो ईश्‍वर होइन, त्‍यसको कारण तिनीहरूले मलाई डाही तुल्‍याए, तिनीहरूका व्‍यर्थका मूर्तिहरूद्वारा तिनीहरूले मलाई रीस उठाए। एउटा जाति नै नभएका मानिसहरूद्वारा म तिनीहरूलाई डाही बनाउँछु, समझै नभएको एउटा जातिद्वारा तिनीहरूको रीस उठाउनेछु” (व्यवस्था ३२:२१; रोमी ९:१०)।

“तर आजसम्‍म परमप्रभुले तिमीहरूलाई बुझ्‍ने मन, देख्‍ने आँखा र सुन्‍ने कान दिनुभएको छैन” (व्यवस्था २९:४, रोमी ११:८)।

दोस्रो प्रकाश राजा दाऊदलाई प्रकट गरिएको थियो।

‘तिनीहरूका निम्‍ति राखिएको भोजन तिनीहरूका निम्‍ति पासो बनोस्‌, यो नै प्रतिफल र धराप बनोस्‌। तिनीहरूका आँखा धमिला होऊन्‌ र देख्‍न नसक्‍ने बनून्‌, र तिनीहरूको कमर सदा कुप्रिरहोस्‌’ (भजन संग्रह ६९:२२-२३, रोमी ११:९-१०)।

तेस्रो होशेलाई प्रकट गरिएको थियो।

‘म मेरो आफ्‍नो निम्‍ति म त्‍यसलाई भूमिमा रोप्‍नेछु। जसलाई मैले “प्रिय नभएकी” भनेको थिएँ, त्‍यसलाई म दया देखाउनेछु। जसलाई मैले “तिमीहरू मेरा प्रजा होइनौ” भनेको थिएँ, तिनीहरूलाई म “मेरा प्रजा” भन्‍नेछु। अनि तिनीहरूले भन्‍नेछन्, ‘तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ’।” ( होशे २:२३, रोमी ९:२५-२६)।

उहाँले यशैयालाई भन्‍नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन, ‘तिमीहरू सुन्‍न त सुन्‍छौ, तर बुझ्‍दैनौ, तिमीहरू देख्‍न त देख्‍छौ, तर थाहा पाउँदैनौ’। यी मानिसहरूका हृदय कठोर, र तिनीहरूका कान नसुन्‍ने पार, र तिनीहरूका आँखा बन्‍द गरिदेऊ, नत्रता तिनीहरूले आफ्‍ना आँखाले देख्‍लान्, र आफ्‍ना कानले सुन्‍लान्, र तिनीहरूका हृदयले बुझ्‍लान्, र फेरि फर्केर तिनीहरू निको होलान्” (यशैया ६:९-१०, रोमी ११:८)।

यहूदीहरू अर्थात् इस्राएलीहरूको आत्मिकी आँखा अन्धो तुल्याइनेछ भन्‍ने कुरा पुरानो करारका धेरै व्यक्तिहरूले अगमवाणी गरेका छन् (त्यसैकारण ती अन्धाहरूले येशूलाई संसारको मुक्तिदाताको रूपमा देख्न सक्दैनन्)। तर एकदिन इस्राएलीहरूमध्ये आत्मिक आँखा अन्धो नभएका न्यून सङ्ख्याका यहूदीहरूद्वारा इस्राएल पुनर्स्थापित हुनेछन्। यी न्यून सङ्ख्याका यहूदीहरूलाई ‘पवित्र बिउ’ भनिन्छ (यशैया ६:१३)। यशैया भन्छन्, कि त्यो सानो बचेको भाग जहिले पनि रहिरहनेछ (यशैया १:९, १०:२२-२३)। अनि यो भविष्यवाणी पुरा हुनको निम्ति इस्राएलको इतिहासभरि परमेश्‍वरको भयमा जिउने थोरै व्यक्तिहरूले मूर्तिपूजा नगरी यहोवा परमेश्‍वरको मात्र सेवा गरेका थिए। अहिले नयाँ करारको समयमा पनि न्यून संख्यक यहूदीहरूले येशूलाई प्रभु र मुक्तिदाता भनेर विश्‍वास गरी उहाँको उहाँको सेवा गर्दछन् (रोमी ११:५-६)।

यहूदीहरूको बिचमा रहेका ती न्यून संख्यक बचेको सानो अंशद्वारा एकदिन पुरा इस्राएल प्रभुमा पुनर्स्थापित हुनेछ। जब परमेश्‍वरले चुन्नुभएका अन्यजातिहरूको सङ्ख्या पुरा हुनेछ, तब यो दिन आउनेछ। रोमी ११:२५-२६ मा पावल यसरी भन्छन्, ‘भाइ हो, आफ्‍नै अभिमानमा तिमीहरू बुद्धिमान्‌ हुन खोज्‍छौ, कि भनेर तिमीहरू यो रहस्‍य बुझ भन्‍ने म चाहन्‍छु, कि अन्‍यजातिहरूको सङ्ख्या पूर्ण नभएसम्‍म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ। यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ: उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।’

यसको मतलब के हो भने परमेश्‍वरले तय गर्नुभएको अन्यजातिहरूको सङ्ख्या पुरा भएपछि, यहूदीहरूको कठोर हृदय नरम हुनेछ, तिनीहरूको आत्मिकी आँखा खुल्नेछ र तिनीहरूले येशूलाई मुक्तिदाता, प्रभु र परमेश्‍वरको रूपमा स्वीकार गर्नेछन्।

मुक्तिको प्रक्रियालाई बुँदागतरूपमा यसरी व्याख्या गर्न सकिन्छ।

  • सुसमाचार सुरुमा इस्राएलमा बस्ने यहूदीहरूकहाँ (इस्राएलीहरूकहाँ) जानेछ।
  • तिनीहरूद्वारा सुसमाचार प्रवासी यहूदीहरूमा (ग्रीक बोल्ने यहूदीहरूमा जानेछ)।
  • प्रवासी यहूदीहरूद्वारा सुसमाचार अन्यजातिहरूमा जानेछ।
  • त्यसपछि बिस्तारै यहूदीहरू आत्मिकी अन्धो हुदैजानेछन्।
  • अनि सुसमाचार उद्धारको निम्ति चुनिएका अन्यजातिहरूमा फैलनेछ।
  • अन्यजातिहरूको सङ्ख्या पुरा भएपछि, बिस्तारै न्यून संख्यक यहूदीहरूको आत्मिकी आँखा खुल्दैजानेछ (१,४४,००० मसिही यहूदीहरू, प्रकाश ७:४))।
  • उद्धार पाउनुपर्ने चुनिएका अन्यजातिहरूको सङ्ख्या पुरा भएपछि बाँकी यहूदीहरू प्रभु येशूतिर फर्कनेछन्।

परमेश्‍वरले पावललाई प्रकट गरिदिनुभएको रहस्यको अर्थ यही हो। हामी यसलाई मानवीय दिमागले सजिलैसँग बुझ्न सक्दैनौँ। हुर्कदै गरेका आत्मिक बालकहरूलाई यस्तो गहन शिक्षा दिनु उपयुक्त हुँदैन किनभने यो कुरा तिनीहरूका दिमाग र समझले बुझ्न र व्याख्या गर्न सक्ने कुरा होइन। यो रहस्य परमेश्‍वरको पूर्ण सार्वभौमिक अधिकार भित्रको कुरा हो (मत्ती २०:१५, रोमी ९:१०-२३)। मानवीय समझ र ज्ञानले बुझ्न नसकिने गहिरो कुरा भएकोले गर्दा, पावलले यसलाई रहस्य भनी लेखेका हुन् (एफिसी ३:४)।

User Reviews