यूहन्ना येशूका सुरुका १२ चेलाहरूमध्ये एक थिए। उनी कफर्नहुममा गालील तालको नजिकै बस्थे। उनका पिता जब्दी मछुवा व्यवसाय गर्ने मानिस थिए। मर्कूस १:२० बाट जब्दिसँग काम गर्ने मजदुरहरू पनि थिए भनी बुझ्न सकिन्छ। येशूले बोलाउनुभन्दा अघि जब्दिका छोराहरू यूहन्ना र याकूबले बुबाको व्यवसायमा सहायता गर्ने गर्थे।
यूहन्ना भन्ने नाउँ ग्रीक भाषाको योहन्नेस शब्दबाट आएको हो जसको अर्थ “यहोवा परमेश्वर अनुग्रही हुनुहन्छ” भन्ने हुन्छ। येशू नै नयाँ करारको यहोवा हुनुभएकोले योहन्नेसको अर्थ “येशू अनुग्रही हुनुहुन्छ” पनि हुन सक्छ (यशैया ४४:६; प्रकाश १:८; २२:१३)। मर्कूसको पुस्तकले यूहन्ना र याकूबलाई बोअनर्गेश भन्ने नाउँ दिएको छ (मर्कूस ३:१७)। अरामिक भाषामा बोअनर्गेशको अर्थ “गर्जनका छोराहरू” हुन्छ। त्यो नामको अर्थसँग मिल्ने गरी यूहन्ना र याकूब दुवैजना सोझा र साहसी मानिसहरू थिए।
साहसी व्यक्तित्वको कारणले गर्दा यूहन्नाले आफ्नो लेखमा कडा किसिमको अभिव्यक्ति दिएका छन्। उनले आफ्ना पत्रहरूमा– ख्रीष्ट विरोधी (१ यूहन्ना २:१८, ४:३), झूटाहरू (१ यूहन्ना २:२२), र दुष्टका सन्तानहरू (१ यूहन्ना ३:१०) भन्ने शब्दहरू प्रयोग गरेका छन्। उनले येशू ख्रीष्टको ईश्वरत्वलाई इन्कार गर्न खोज्ने मानिसहरूको निम्ति यस्ता कडा शब्दहरू प्रयोग गरेका छन्। यूहन्नाको पत्रहरूमा भेटिने यी शब्दहरू उनको साहसी व्यक्तित्को प्रकटीकरण हुन्
यूहन्ना येशूका बाह्र जना चेलाहरूमध्ये घनिष्ठ तिन जना चेलाहरूमा पर्थे। ती तिनजना– यूहन्ना, पत्रुस र याकूब थिए। येशूले जहाँ जानुहुँदा पनि यी तिन जनालाई साथमा लानुहुन्थ्यो। पहाडमा येशूको रूप परिवर्तन हुदाँ यी तिन जना उहाँको साथैमा थिए (मत्ती १७:१)। गेतसमनीको बगैँचामा प्रार्थना गर्न जानुहुँदा पनि तिनीहरू सँगै थिए (मत्ती २६:३७)।
ती तिन जनामध्ये यूहन्नाचाहिँ येशूका सबैभन्दा प्यारो चेला थिए। त्यसैकारण यूहन्नाले येशूले सबैभन्दा प्रेम गर्नुहुने चेला ‘म नै हुँ’ भनी सङ्केत गरेका छन् (यूहन्ना १३:२३, १९:२६, २०:२, २१:७)। उनले यूहन्ना १३:२३ मा ‘उहाँका चेलाहरूमध्ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए’ भनेर लेखेका छन्।
यूहन्ना १३ अध्याय अन्तिम रात्रिभोजको विवरण हो। त्यतिबेला खाना खाने बेलामा यूहन्ना येशूसँग टाँस्सिएर बसेका थिए। येशूले यूहन्नालाई धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा पत्रुसलाई थाहा थियो। त्यसैले पत्रुसले येशूलाई केही भन्नुपर्यो भने यूहन्नालाई भन्न लगाउँथे (यूहन्ना १३:२४-२६)। यसबाट यूहन्ना येशूको कति नजिक थिए भनी अनुमान लगाउन सकिन्छ।
यूहन्नाले पनि येशूलाई धेरै प्रेम गर्थे। येशू पुनरुत्थान हुनुभएको खबर पाएपछि चिहानमा दौडेर जाने चेला यूहन्ना नै थिए (यूहन्ना २०:१-४)। येशू क्रूसमा टाँगिनु भएपछि अरू चेलाहरूले उहाँलाई छोडेर गए तर यूहन्ना उहाँको साथमा बसी रहे। त्यतिबेला त्यहाँ उपस्थित रहुनु खतरा थियो, तैपनि उनी येशूकी आमा मरियमसँगै थिए। प्राण त्याग्नुभन्दा पहिले येशूले क्रूसबाट यूहन्नालाई आफ्नी आमाको रेखदेख गर्नू भन्नुभएकोले उनले मरियमलाई आफ्नो घरमा लगे (यूहन्ना १९:२६-२७)।
दोस्रो र तेस्रो शताब्दीका इतिहासकारहरूका लेखअनुसार येशूको स्वर्गारोहणपछि उहाँकी आमा मरियम यूहन्नाको साथमा रहन थालिन् (Irenaeus, इ.सं. १३०-२२० – Adversus Haereses III, 1, 1 र Eusebius of Caesarea, इ.सं. २६०-३४० – Church History III, 1)। पछि यूहन्ना एफिससमा जाँदा मरियम पनि सँगै गइन्। इ.सं. ९६ मा यूहन्नाको मृत्यु एफिससमा भएकोले मरियमको मृत्यु त्यहीँ भएको हुनुपर्छ भनी अनुमान लगाउन सकिन्छ तर कहिले मृत्यु भयो भन्ने जानकारी उपलब्ध छैन।
यूहन्ना येशूकी सानीआमाको छोरा थिए भन्ने धारणा इसाई जगतमा प्रचलित छ। यूहन्ना १९:२५ अनुसार येशू क्रूसमा टाँगिनुहुँदा चार जना स्त्रीहरू त्यहाँ थिए। पहिलो- येशूकी आमा मरियम, दोस्रो- येशूकी आमाकी बहिनी, तेस्रो- क्लेओपासकी पत्नी मरियम, र चौथो- मरियम मग्दलिनी। यो पदमा उल्लिखित दोस्री स्त्री येशूकी आमाकी बहिनी भनेको यूहन्नाकी आमा हुनुपर्छ। मर्कूस १५:४० ले यसलाई पुष्टि गर्छ, “त्यहाँ टाढ़ैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।” यहाँ उल्लिखित सलोमी भन्ने स्त्री येशूकी आमाकी बहिनी हुनुपर्छ (यूहन्ना १९:२५)। यदि त्यसो हो भने येशूकी आमा र यूहन्नाकी आमा (मरियम र सलोमी) दिदिबहिनी हुन् अनि येशू र यूहन्नाचाहिँ नातामा दाजुभाइ हुन्।
दुईजना नजिकको नातेदार भए तापनि यूहन्नाले येशूलाई कहिल्यै नातेदारको रूपमा व्यवहार गरेनन् किनभने येशू परमेश्वर हुनुहुन्छ भनी उनले राम्रोसँग बुझेका थिए (यूहन्ना १:१-१४)। येशू र यूहन्ना एउटै आमाको छोराहरू नभएर दिदीबहिनीका छोराहरू थिए कुरा यूहन्नालाई थाहा थियो। जे भए तापनि येशू परमेश्वरका पुत्र (यूहन्ना ३:१६-१७); मसिह अथवा ख्रीष्ट (यूहन्ना ४:२५); र पिता परमेश्वरको बराबरी (यूहन्ना १०:३०) हुनुहुन्छ भन्ने कुरा यूहन्नाले राम्रोसवग बुझेका र विश्वास गरेका थिए। यूहन्नाले आफ्नो नातेदार येशूलाई परमेश्वर अथवा परमेश्वरको पुत्र भनी दाबी गर्नु सजिलो थिएन। विशेषगरी यहूदी सँस्कृतिमा पिता मात्र परमेश्वर हुनुहुन्छ भन्ने बुझाइ थियो। त्यसैले यहूदी समाजमा कसैले मानिसलाई परमेश्वरको दर्जामा राख्नु ईश्वरनिन्दा हुन्थो (मत्ती २६:६५) र ईश्वरनिन्दा गर्ने व्यक्ति मृत्युदण्डको योग्य हुन्थ्यो (प्रस्थान २०:३१, लेबी २४:१६ र मत्ती २६:६६)।
यूहन्नाले पवित्र आत्माको प्रकाशमा येशू परमेश्वर हुनुहुन्छ भनी बुझे। त्यसैले उनले सबै लेखहरूमा येशू नै परमेश्वर हुनुहुन्छ भनी घोषणा गरेका छन् (यूहन्ना २०:३१)। उक्त घोषणाको कारण उनले यहूदी र रोमी दुवै समूहबाट कडा सतावट सहनुपर्यो तैपनि डर नमानी साहससँग उनले उक्त सत्यता घोषणा गरिरहे।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को शिक्षाहरूमा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ। परमेश्वरको महिमा होस्।।