त्रिएक (Trinity) भन्ने शब्द बाइबलमा छैन। यो ईश्वरशास्त्रीय शब्दलाई पहिलोपटक कन्स्टान्टिनोपलको परिषदमा अनुमोदन गरियो (इ.सं. ३८१)। पहिलो शताब्दीको सुरुका मण्डलीदेखि उक्त समयमा त्रिएकको सिद्धान्त स्थापित नभएसम्म झूटा शिक्षाका विभिन्न समूहहरूद्वारा त्रिएक परमेश्वरको सिद्धान्तमाथि लगातार गम्भीर आक्रमणहरू भइरहे, जुन आजको दिनमा पनि स्पष्ट देख्न सकिन्छ। विशेषगरी केही मानिसहरूका दृष्टिकोणमा त्रिएकको अवधारणा र एकईश्वरवादको अवधारणा एक-आपसमा नमिलेको जस्तो देखिन्छ। त्यसैले गर्दा पिता परमेश्वरलाई मात्र स्वीकार गर्ने समूहका मानिसहरूले त्यसबाट झन् आफ्नो शिक्षामा बल थपे। त्यस किसिमका झूटा शिक्षाहरूप्रति प्रतिक्रिया जनाउन तत्कालीन पाँच क्षेत्रका मण्डलीहरूका बिशपहरू कन्स्टान्टिनोपल (त्यतिबेला ग्रीसको राजधानी) भन्ने ठाउँमा जम्मा भएर ‘त्रिएक’ भन्ने यो ईश्वरशास्त्रीय शब्द अनुमोदन गरे तिनीहरूले सामूहिक मञ्जुरीमा त्रिएकको सिद्धान्तलाई स्थापित गरे (अध्याय दुईमा उल्लिखित त्रिएकको सिद्धान्तको स्थापना हेर्नुहोस्)।
सुरुका मण्डलीको प्रेरितहरूसँग त्रिएकको ठोस अवधारणा थियो भनी बाइबलले पुष्टि गर्दछ। उदाहरणको लागि प्रेरित पावलले कोरिन्थीका मण्डलीका इसाईहरूलाई यसरी आशिष् दिएका छन्: “प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम र पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून्” (२ कोरिन्थी १३:१४)। प्रेरित पावलले मात्र होइन, जब हामी प्रेरित यूहन्ना, प्रेरित पत्रुस र नयाँ करारको अन्य लेखकहरूको लेखाइलाई नियाल्छौँ भने त्यतिबेला सानो समूहमा पर्ने विश्वासयोग्य चेलाहरूले त्रिएक परमेश्वरलाई स्वीकार गरी समुचित ढङ्गमा विश्वासको जीवन जिएको देख्दछौँ (मत्ती २८:१९; ३:१६-१७; मर्कूस १:९-११)।
नयाँ करारमा मात्र होइन, जब हामी आफ्नो आत्मिक आँखा खोलेर सम्पूर्ण पुरानो करारमा खोजतलास गर्दछौँ भने त्यहाँ पनि त्रिएकको अवधारणा रहेको प्रमाणहरू भेट्टाउँदछौँ (उत्पत्ति १:१,२६; यशैया ६:८)। पुरानो करार बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायमा नै त्रिएकको अवधारणा देखा पर्दछ। उत्पत्ति १:१ मा नै त्रिएकको सार लुकिएको छ। पुरानो करार हिब्रू भाषामा लेखिएको थियो र उक्त मूल हिब्रू भाषाको बाइबलमा उत्पत्ति १:१ मा ‘एलोहिम’ (Elohim) भन्ने शब्द प्रयोग गरिएको छ, जसलाई अङ्ग्रेजीमा गड (God) र नेपालीमा ‘परमेश्वर’ भनी अनुवाद गरिएको छ। हिब्रू भाषाअनुसार ‘एलोह’ (Eloh) भनेको ‘परमेश्वर’ अनि ‘इम’ (im) भनेको ‘हरू’ हुन्छ। यसलाई स्पष्टसँग भन्ने हो भने कुनै शब्दमा ‘इम’ (im) जोडिँदा त्यो बहुवचन हुन जान्छ। त्यसकारण, एलोहिम (Elohim) को शाब्दिक अर्थ ‘परमेश्वरहरू’ हुन्छ। तर यहाँ अनौठो कुरा के छ भने उक्त एलोहिम भन्ने बहुवचन नाउँले एकवचनको क्रियापद लिएको छ, जसले त्रिएक परमेश्वरको स्वभावलाई प्रकट गर्दछ।
आजभोलिका इसाईहरूलाई त्रिएक परमेश्वरको बारेमा बुझ्न गाह्रो छ, किनभने सृष्टिकर्ता परमेश्वरको स्वभाव र विशेषता बुझ्न तिनीहरूसँग भएको ज्ञान-बुद्धि र तर्क गर्ने क्षमता अति सीमित छ। त्रिएकको अवधारणालाई बुझ्ने हो भने हामीलाई पूर्णरूपमा पवित्र आत्माको अगुवाइ र मार्गनिर्देशनको खाँचो पर्दछ।
इसाईहरूका परमेश्वर एक हुनुहुन्छ, र उहाँले आफूलाई परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मामा प्रकट गर्नुहुन्छ। एक परमेश्वरमा तीन व्यक्तिहरू हुनुहुन्छ र उहाँहरू एक-अर्कामा वास गर्नुहुन्छ (Perikoresis)। परमेश्वर पितामा परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा वास गर्नुहुन्छ, परमेश्वर पुत्रमा परमेश्वर पिता र परमेश्वर पवित्र आत्मा वास गर्नुहुन्छ र परमेश्वर पवित्र आत्मामा परमेश्वर पिता र परमेश्वर पुत्र वास गर्नुहुन्छ। उहाँहरू नम्र भएर एकले अर्कालाई आदर अनि उचाल्ने गर्नुहुन्छ। उहाँहरूले आफ्नो प्रेमिलो सम्बन्धमा एक-अर्कासँग सङ्गति गर्नुहुन्छ (Koinonia) र त्यसको साथै उहाँहरू एकले अर्कोलाई सेवा पनि गर्नुहुन्छ (Diakonia)।
त्रिएक परमेश्वर पारस्परिक एकतामा रहनुहुने एउटै परमेश्वर हुनुहुन्छ, र उहाँहरूका तीन व्यक्तिहरूका कामहरूमा चाहिँ विविधता देखिन्छ। उहाँहरूको कामद्वारा हामी प्रत्येकलाई छुट्ट्याउन सक्छौँ; जस्तै: परमेश्वर पिता योजना बनाउनुहुने हुनुहुन्छ, परमेश्वर पुत्र कार्यान्वयन गर्ने हुनुहुन्छ र परमेश्वर पवित्र आत्माचाहिँ सामर्थ्य दिने हुनुहुन्छ।
त्रिएक परमेश्वरको तीन व्यक्तिहरू एक-आपसमा मिलेर काम गर्नुहुन्छ। उहाँहरू अलग भएर व्यक्तिगतरूपमा छुट्टाछुट्टै काम गर्नुहुन्न। वास्तवमा यही विशेषता त्रिएक परमेश्वरको सहकार्य र एकता हो। यसलाई बाइबलबाट उदाहरणको रूपमा हेर्ने हो भने आदमको पतनपछि मानवजातिलाई बचाउने उद्देश्यले त्रिएक परमेश्वरले विशेष बैठक आयोजना गर्नुभयो। त्यसबेला, परमेश्वर पिताले अध्यक्षको भूमिका लिनुभयो र आधिकारिक निर्णयलाई घोषणा गर्नुभयो। अनि पुत्र परमेश्वरले मानिसजातिसँग सम्बन्ध राख्दै उक्त निर्णयअनुसार काम गर्नुभयो (उत्पत्ति ३:१५)। र उक्त मिसन पूरा गर्न परमेश्वर पवित्र आत्माले परमेश्वर पुत्रलाई सामर्थ्य प्रदान गर्नुभयो।
यद्यपि परमेश्वर पिताले अध्यक्षको भूमिका लिनुभए तापनि उहाँ अरू दुई व्यक्तिहरूभन्दा उच्च स्तरमा हुनुहुन्छ भन्ने होइन। त्रिएक परमेश्वरको प्रत्येक व्यक्तिको महत्व, शक्ति, अधिकार, ओहोदा, चरित्र र विशेषता समान छ। निर्णय गर्नको निम्ति उहाँहरूको हक समान छ। उहाँहरूसँग निर्णय गर्ने यस्तो विशेष व्यवस्था छ। तीन व्यक्तिहरू भएको इसाईहरूका एउटै त्रिएक परमेश्वरले पारस्परिकरूपमा एक-आपसमा वास गर्ने, पारस्पपरिक सङ्गति गर्ने र पारस्परिक सेवा गर्ने विशेष नमुना प्रदर्शन गर्नुहुन्छ। यसरी उहाँहरूले विविधतामा एकता र सहकार्यता देखाउनुहुन्छ। यस किसिमले उहाँ हाम्रो ज्ञान-बुद्धि र समझभन्दा माथिको रहस्यमय परमेश्वर हुनुहुन्छ।
इसाईहरूको परमेश्वर तीन व्यक्तिहरूमा रहनुहुन्छ- परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर आत्मा (उत्पत्ति १:१,२६; यशैया ६:८; मत्ती २८:१९; २ कोरिन्थी १३:१४)। उहाँहरू मूल तत्वमा (अथवा सारमा), शक्तिमा, अधिकारमा, ओहोदामा, चरित्रमा र विशेषताहरूमा बराबर हुनुहुन्छ तर उहाँहरूको कामहरूचाहिँ फरक-फरक छन्। परमेश्वर पिता योजनाकार हुनुहुन्छ, परमेश्वर पुत्र कार्यान्वयनकर्ता हुनुहुन्छ र परमेश्वर पवित्र आत्मा शक्ति दिएर सामर्थ्यवान तुल्याउनुहुने हुनुहुन्छ।
त्रिएक परमेश्वरले हरेक काम सँगै मिलेर गर्नुहुन्छ। उत्पत्ति ३:१५ परमेश्वरको मुक्तिको महान् योजनालाई घोषणा गर्ने विशेष उदाहरण हो। मानिसको पतनपछि त्रिएक परमेश्वरको बैठक आयोजना गरियो। उक्त बैठकमा परमेश्वर पिताले अध्यक्षको भूमिका निभाउनु भई आधिकारिक निर्णय गर्नुभयो, परमेश्वर पुत्रले उक्त बैठकको निर्णयअनुसार मुक्तिको कामलाई कार्यान्वयन गर्नुभयो, जुन मानवजातिसँग उहाँको सम्बन्धमा रहेर गरिएको थियो; र उक्त कामलाई सही ढङ्गमा पूरा गर्नको निम्ति परमेश्वर पवित्र आत्माले परमेश्वर पुत्रलाई सामर्थ्यवान् तुल्याउनुभयो।
यस किसिमले यहाँ त्रिएक परमेश्वरको तीन व्यक्तिहरूको सम्बन्धको स्वभाव सशक्त देखिन्छ। त्रिएक परमेश्वरको तीन व्यक्तिहरू हरेक कुरामा बराबर अनि कामहरूमा चाहिँ फरक भए तापनि उहाँहरूले एक-अर्काप्रति नम्रतापूर्ण व्यवहार गर्नुहुन्छ, एकले अर्कोलाई उच्च पार्नुहुन्छ, आदर गर्नुहुन्छ अनि प्रेम गर्नुहुन्छ। प्रत्येक व्यक्तिले आफ्नै गवाही दिनुहुन्न, तर एकले अर्कोको गवाही दिनुहुन्छ जसले यो सशक्त सम्बन्धलाई स्पष्टसँग प्रदर्शन गर्दछ। एक व्यक्तिले अर्को गवाही दिनुहुन्छ (यूहन्ना ५:३१; ७:१८)- परमेश्वर पिताले आफ्नो पुत्रको गवाही दिनुहुन्छ (मत्ती ३:१७; १६:१६-१७; १७:५; यूहन्ना ५:३७; ८:१८), परमेश्वर पुत्रले आफ्नो पिताको गवाही दिनुहुन्छ (यूहन्ना १:१८; ८:१९; १४:९), परमेश्वर पुत्रले परमेश्वर पवित्र आत्माको गवाही दिनुहुन्छ (यूहन्ना १४:१६-१७,२६; मत्ती १०:२०), र परमेश्वर पवित्र आत्माले परमेश्वर पुत्रको गवाही दिनुहुन्छ (यूहन्ना १५:२६; प्रेरित १:८)।
त्रिएक परमेश्वर नम्र हुनुहुन्छ। त्रिएक परमेश्वरको प्रत्येक व्यक्तिले आफूलाई बढावा दिनुहुन्न। विशेषगरी, आफ्नो सार्वजनिक सेवकाइमा येशूले आफ्नो सबै कामहरू परमेश्वर पिताबाट आएका हुन् भनी घरीघरी गवाही दिनुभएर उहाँले परमेश्वर पिताको महिमा गर्नुभयो (यूहन्ना ५:२०; ६:३८; १२:४९; १४:१०)। परमेश्वर पिताको योजनाअनुसार येशूले सृष्टिको सेवकाइलाई पूरा गर्नुभयो (यूहन्ना १:३; कलस्सी १:१६: हिब्रू १:२)। परमेश्वर पिता सबै सृष्टिभन्दा महान् हुनुहुन्छ भनी येशूले नम्रतापूर्वक उहाँलाई उच्च पार्नुभयो (यूहन्ना १०:२७-२९)।
आफूलाई संसारमा पठाउनुहुने परमेश्वर पिता नै हुनुहुन्छ भनेर येशूले गवाही दिनुभयो (उत्पत्ति ३:१५; यशैया ७:१४; मत्ती १:१८-२२; यूहन्ना ६:५७; ८:४२; २०:२१)। उहाँले यसो पनि भन्नुभयो, कि बचाइने व्यक्तिहरूलाई परमेश्वर पिताले पहिले नै पूर्वनिर्धारित गर्नुभएको थियो र उहाँले तिनीहरूलाई येशूको हातमा दिनुहुन्छ (यूहन्ना ६:३७,४४-४५; १७:६)। तिनीहरूको माझमा परमेश्वर पिताको नाउँ प्रकट गर्नु नै येशूले मानव शरीर धारणको उद्देश्य हो (यूहन्ना ३:१६; ५:२४)। उहाँले भन्नुभएको अर्को कुरा के हो भने हरेक कुरा परमेश्वर पिताले आफ्नो पुत्रलाई सुम्पनुभएर सबै अधिकार उहाँलाई दिनुभयो (मत्ती २८:१८; यूहन्ना १७:२; एफिसी ४:८-१०)। पिताले मलाई न्याय गर्ने शक्ति दिनुभयो भन्नुभएर येशूले आफ्नो पितालाई उच्च पार्नुभयो (यूहन्ना ५:२७; प्रकाश २०:११-१५)।
त्रिएक परमेश्वरको तीन व्यक्तिहरूको सशक्त सम्बन्धले हामी इसाईहरूको निम्ति असल उदाहरण प्रस्तुत गर्दछ। त्रिएक परमेश्वरको प्रत्येक व्यक्तिको काम फरक भए तापनि उहाँहरू आधारभूतरूपमा एउटै परमेश्वर हुनुहुन्छ। एकले अर्कालाई नम्रतापूर्वक आदरपूर्ण व्यवहार गर्दै उहाँहरूले एक-आपसको प्रेमिलो सम्बन्धलाई कायम राख्नुहुन्छ। परमेश्वरका सन्तान भएकोले गर्दा उक्त उदाहरणलाई हामीले नमुनाको रूपमा अनुसरण गर्नुपर्छ। यसैको निम्ति येशूले क्रूसमा टाँगिनुभन्दा केही समयअघि ‘जसरी त्रिएक परमेश्वर एकतामा हुनुहुन्छ, त्यसरी नै आफ्ना चेलाहरू एक हुन सकून्’ भनी प्रार्थना गर्नुभयो (यूहन्ना १७:११,२१-२३)।
परमेश्वरको सन्तानहरूले त्रिएक परमेश्वरको यस्तो विशेषतालाई अनुसरण गरेर एक-अर्कामा यस्तै सशक्त सम्बन्ध निर्माण गरेमा तिनीहरूद्वारा थुप्रै आत्मिक फलहरू फल्नेछन्। दैनिकरूपमा त्रिएक परमेश्वरको पहिचानलाई अध्ययन गर्ने, बुझ्ने, स्वीकार गर्ने र यसलाई कण्ठ गर्ने अनि मनन गर्ने इसाईहरूले नै साँचोरूपमा परमेश्वरको महिमा गर्दछन्। यस्ता व्यक्तिहरूले परमेश्वरबाट आउने साँचो खुसी र आनन्दको स्वाद लिँदै सृष्टिको उद्देश्यअनुसार जीवन जिउने गर्दछन्।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को पुस्तकहरू अनुवाद गर्दा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ।