AMI Nepal

News धार्मिक परमेश्‍वर

धार्मिक परमेश्‍वर

/Systematic Theology
26 May 2023

परमेश्‍वर धार्मिक हुनुहुन्छ। धार्मिकता भनेको परमेश्‍वर असल स्वभाविक बुद्धि, विवेक र न्याय हो। धार्मिकता भनेको न्यायको पर्यायवाची शब्द हो। परमेश्‍वर धर्मी हुनुहुन्छ (२ इतिहास १२:६; एज्रा ९:१५; नहेम्याह ९:३३; यशैया ४५:२१; यूहन्‍ना १७:२५), परमेश्‍वर न्यायी हुनुहुन्छ (व्यवस्था ३२:४), र उहाँले धार्मिकतासित न्याय गर्नुहुन्छ (भजन ९:७-८; ९६:१८; ९८:९; यशैया ११:४-५; प्रकाश १६:५-७)।

येशू धर्मी हुनुहुन्छ भनी बाइबलले बताउँछ। यर्मियाद्वारा परमेश्‍वरले यसरी अगमवाणी गर्नुभयो, “हेर, यस्‍ता दिन आउँदैछन्‌, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एउटा राजा जसले बुद्धिसित राज गर्नेछन्‌, र जे उचित र ठिक छ त्‍यही तिनले देशमा गर्नेछन्‌ … जुन नाउँले तिनी कहलाइनेछन्‌ त्‍यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता'” (यर्मिया २३:५-६; ३३:१५-१६)। पुरानो करारको यशैयाद्वारा परमेश्‍वरले पहिले नै भन्‍नुभयो, कि कुनै दिन ख्रीष्ट अन्यजातिहरूका ज्योति हुनको निम्ति देखा पर्नुहुनेछ, र उहाँले आफ्नो विश्‍वासयोग्यतामा न्याय ल्याउनुहुनेछ (यशैया ४२:१-६; लूका २:३२)।

ती कुराहरू पूरा भइसकेका छन्। येशू ख्रीष्ट धार्मिक सेवकको रूपमा यस संसारमा आउनुभयो (यशैया ५३:११) र पापीहरूलाई झुण्ड्याउने क्रूसमा आफ्नो पवित्र अनि बहुमूल्य रगत बगाउनुभएर मुक्तिको कामलाई पूरा गर्नुभयो। त्यसो गर्नुभएर, उहाँले परमेश्‍वरको धार्मिकतालाई प्रकट गर्नुभयो। आफ्नो प्रेम, दया र अनुग्रहको प्रकटीकरणझैँ गरी परमेश्‍वरले आफ्नो धार्मिकता प्रदान गर्नुभएरको छ, जुन वास्तवमा मुक्ति हो। तसर्थ, प्रभु येशूको कारणले गर्दा नै हामी परमेश्‍वरले पहिले नै चुन्‍नुभएका उहाँका सन्तानहरू परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिएका छौँ (रोमी ४:२५)। यस प्रकार, ख्रीष्टको सुसमाचारमा परमेश्‍वरको धार्मिकता प्रकट भएको छ, र विश्‍वासद्वारा मानिसले उहाँको धार्मिकता र मुक्तिलाई ग्रहण गर्दछ (रोमी १:१६-१७; १०:९-१०)।

त्यसको साथै येशू ख्रीष्ट धार्मिक न्यायाधीस हुनुहुन्छ (भजन ७:११; २ तिमोथी ४:८)। आफ्नो धार्मिकताद्वारा येशूले विश्‍वासीहरूलाई मुक्ति दिनुहुन्छ (यशैया ४५:२१; ५१:४: जकरिया ९:९), र अविश्‍वासीहरूमाथि अनन्त दण्ड ल्याउनुहुन्छ (यूहन्‍ना ५:२९; प्रेरित १७:३१; २ थेसलोनिके १:५-९)। यस प्रकार, पापको विरुद्धमा हुने पवित्र निन्दाले परमेश्‍वरको धार्मिकतालाई पछ्याउँछ। परमेश्‍वर पवित्र हुनुभएकोले गर्दा, हरेक पाप उहाँमा प्रकट भएको छ, र हरेक पापीको न्याय भएको छ (उत्पत्ति २:१७; व्यवस्था ७:९-१३; भजन ५८:११; रोमी १:३२; २:८-९; प्रकाश २०:११-१५)।

परमेश्‍वरको धार्मिकता मोशाको व्यवस्थाको आयामभन्दा पूर्णरूपमा फरक छ। उहाँको धार्मिकताको आयाम व्यवस्थाभन्दा उच्‍च, गहिरो र फराकिलो छ। परमेश्‍वरको व्यवस्थाका कामहरूलाई हेर्नुहुन्‍न तर मानिसको हृदयभित्र हेर्नुहुन्छ, त्यसैले परमेश्‍वरको धार्मिक न्यायको नजरबाट कोही पनि लुक्‍न सक्दैन (भजन ७:९; ११:४-७; यर्मिया ११:२०)।

फरिसीहरूले व्यवस्थाहरू राम्रोसँग पालना गरे तापनि तिनीहरूका हृदयभित्र कुनै धार्मिकता नभएको कुरा येशूले देख्‍नुभयो; त्यसैले उहाले “तिमीहरूलाई धिक्‍कार … ” भनी भन्‍नुभयो (लूका ११:४२)। यसबाहेक, विश्रामको दिनमा येशूले एकजना रोगीलाई निको पार्नुहुँदा, उहाँले शबाथको व्यवस्थाहरूलाई भङ्ग गर्नुभयो भनी यहूदीहरूले एक-आपसमा कानेखुसी गरेकाले, येशूले तिनीहरूलाई भन्‍नुभयो, “मुख हेरेर होइन, तर ठिक किसिमले इन्‍साफ गर” (यूहन्‍ना ७:२४)। त्यसैले व्यवस्था केवल बाहिरबाट देखिने क्रियाकालप हो अनि परमेश्‍वरको धार्मिकताचाहिँ उक्त व्यवस्थाभित्र गहिराइमा लुकिएको परमेश्‍वरको चरित्र, विवेक र न्यायजस्ता कुराहरू हुन् भनी यसले सिकाउँछ।

मानिस कहिले पनि परमेश्‍वरको धार्मिकताको तहमा पुग्‍न सक्दैन। हामी जहिले पनि परमेश्‍वरको धार्मिकताको सामुन्‍ने पापी अवस्थामा रहन्छौँ, र हाम्रो स्व-धार्मिक कामहरूले हामीलाई बचाउन सक्दैन (व्यवस्था ९:४-५; इजकिएल ३३:१२; तीतस ३:५)। तसर्थ, धार्मिक परमेश्‍वरको सामुन्‍ने हामीले गर्नसक्‍ने काम भनेको हामी भ्रष्ट भएका पापीहरू हौँ भनी स्वीकार गरेर, उहाँको दया र अनुग्रह पाउनको निम्ति उहाँलाई बिन्ती चढाउनु हो। हामीले परमेश्‍वरको यस किसिमको धार्मिकतालाई दिनहुँ स्वीकार गर्दै मनन गर्दछौँ र आफ्नो हृदयको गहिराइदेखि नै उहाँको बारेमा मनन गर्दछौँ भने, परमेश्‍वरको दया र अनुग्रह हामीमा ओर्लिआउनेछ अनि हामी बिस्तारै सृष्टिको उद्देश्यअनुसार जिउने सिद्ध इसाईहरू हुँदै जान सक्‍नेछौँ।

 

यहाँसम्म हामीले परमेश्‍वरको पहिचानको १२ वटा विशेषताहरूलाई चर्चा गरेका छौँ। तल दिइएको तालिका ३-३ मा परमेश्‍वरको उक्त १२ वटा विशेषताहरूलाई तीन वर्गमा विभाजन गरी विस्तृतरूपमा राखिएका छन्- अस्तित्वसम्बन्धी तत्वशास्‍त्रीय खण्ड, सेवकाइको खण्ड र चरित्रको खण्ड। अस्तित्वसम्बन्धी तत्वशास्‍त्रीय खण्डमा सुरुका चारवटा विशेषताहरू पर्दछन्- परमेश्‍वरको त्रिएकता, परमेश्‍वरको स्वयम् अस्तित्व, परमेश्‍वरको अनन्तता र परमेश्‍वरको अपरिवर्तनीयता। त्यसैगरी पाँचौँदेखि आठौँमा पर्ने सेवकाइसम्बन्धी चार वटा विशेषताहरू भनेको परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ र परमेश्‍वर सर्वव्यापी हुनुहुन्छ भन्‍ने कुराहरू पर्दछन्। अनि नवौँदेखि बाह्रौँमा पर्ने चरित्रसम्बन्धी विशेषताहरूचाहिँ यी हुन्: परमेश्‍वरको प्रेम, परमेश्‍वरको दया, परमेश्‍वरको अनुग्रह र परमेश्‍वरको धार्मिकता।

हामीले माथि चर्चा गरेझैँ, सृष्टिको उद्देश्यअनुसार जिउने जीवन परमेश्‍वरका यी १२ वटा विशेषताहरूको अध्ययन र बुझाइबाट सुरु हुँदछ। यो संसारमा रहुञ्‍जेल हामीले यी कुराहरूलाई स्वीकार र मनन गर्दै परमेश्‍वरको प्रशंसा र महिमा गरिरहनु पर्दछ। यस्ता काम गर्ने इसाईहरूले मूर्तीहरूको सेवा गर्दैनन् तर सृष्टिकर्ता परमेश्‍वरलाई प्रेम गरी उहाँमा नै भर परिरहन्छन्। त्यसको साथै सांसारिक मूर्तिहरूले कहिले पनि दिन नसक्‍ने साँचो खुसी र आनन्द तिनीहरूले महसुस गर्दैजानेछन्। उक्त खुसी र आनन्दको निम्ति आफू योग्य भएर होइन तर येशू अनुग्रही परमेश्‍वर हुनुभएकोले गर्दा ती कुराहरू प्राप्‍त भएको हो भनी तिनीहरूले बुझ्दैजानेछन्। वास्तवमा त्यो पूर्णरूपमा परमेश्‍वरको अनुग्रहले गर्दा नै हो। दिनहुँ परमेश्‍वरको १२ विशेषताहरूमाथि मनन गर्दै पहिलो चरणमा प्रवेश गर्ने इसाईहरू स्वभाविकरूपमा दोस्रो चरणको निम्ति वृद्धि हुँदैजानेछन्।

User Reviews