मत्ती को थिए?
मत्ती कफर्नहुमका यहूदी थिए। कफर्नहुमचाहिँ येशूले आफ्नो तीन वर्षको सेवकाइ अवधिमा सबैभन्दा बढी समय बिताउनु भएको ठाउँ थियो। अहिलेको भाषामा भन्नुपर्दा, त्यो ठाउँ येशूको मिसन केन्द्र थियो भन्न सकिन्छ। मत्ती त्यो सहरमा कर उठाउने व्यक्ति थिए। मत्ती भन्ने नामको अर्थ ‘यहोवाको उपहार’ (The Gift of Yahweh) हो। मत्तीको खास हिब्रू नाम लेवी थियो (मर्कूस २:१४, लूका ५:२७)। उनको नामलाई हेर्दा हामी यो अनुमान लगाउन सक्छौं, कि उनी पक्कै लेवी वंशको मानिस हुनुपर्छ। त्यसको मतलब उनी पूजाहारी पृष्ठभूमिबाट आएको हुनुपर्छ, अर्थात् मत्ती कर उठाउने नभएर पूजाहारी हुनुपर्ने व्यक्ति थिए।
त्यतिबेला इस्राएल रोमी साम्राज्यको अधिनमा थियो (ई.पू. ६३ – इ.सं. ४७६)। मत्ती यहूदी मानिस भएर रोमी सरकारको तर्फबाट कर उठाउनु भनेको समाजमा आदरणीय काम थिएन। किनभने कर उठाउनेले मानिसहरूबाट कसिकसाउ गरेर कर उठाउने गर्थ्यो, र केही आफ्नो खल्तीमा राखेर अरू रकम रोमी सराकरलाई बुझाउने गर्थे। अरू कर उठाउनेहरूजस्तै मत्तीले पनि त्यसैगरी कर उठाउने भएकोले यहूदीहरूको बिचमा उनी तिरस्कृत थिए। त्यतिबेला मानिसहरूले कर उठाउनेहरूलाई पापीहरूको वर्गमा राख्ने गर्थे (लूका १९:७)।
वास्तवमा मत्ती आफ्नो पेशादेखि असन्तुष्ट थिए किनभने पूजाहारीजस्तो आदरणीय परिवारमा जन्मेर पनि उनले सांसारिक अनि मानिसहरूको बिचमा आदर नपाउने कर उठाउने काम गरिरहेका थिए। मत्तीको हृदयको चित्रण येशूले उनलाई बोलाउनु हुँदाको घटनामा देख्न सकिन्छ।
‘येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरोपछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे। जब फरिसीहरूले त्यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?” यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ” (मत्ती ९:८-१३)।
मत्ती कफर्नहुममा कर उठाउने स्थानमा बसिरहेका थिए। येशू त्यही बाटो भएर जाँदैहुनुहुन्थ्यो। येशूले उनलाई हेरेर ‘आऊ, मेरो पछि लाग’ भन्नुभयो। अनि मत्तीले अलिकति पनि आनाकानी नगरी येशूको बोलावटलाई स्वीकार गरेर उहाँको पछि लागे। त्यति मात्र नभएर उनले येशूलाई आफ्नो घरमा बेलुकाको भोजन गर्न निम्तो पनि दिए। उनले अरू कर उठाउनेहरूलाई पनि खानको निम्ति बोलाए। फरिसीहरूले गिल्ला गर्नेछन् र शासकहरूले उनलाई कारबाही गर्न सक्नेछन् भन्ने मत्तीलाई थाहा थियो, तैपनि ठुलो जोखिम उठाएर उनले येशूलाई पछ्याए।
मत्ती प्रभु येशूको चेला हुनको निम्ति पहिलेदेखि नै चुनिएका व्यक्ति थिए (मत्ती १०:३)। त्यसैकारण अरूबाट तिरस्कृत हुने खालको पापमय पेशामा भए तापनि उनले तुरुन्तै येशूलाई चिनेर पछ्याए। यसरी मत्ती येशूका १२ चेलाहरूमध्ये एक जना चेला बने। पछि उनी इथियोपियामा सुसमाचार प्रचार गर्न गएर त्यहाँको निम्ति पहिलो मिसनरी बने। त्यति मात्र होइन, उनी इ.सं. ७० मा इथियोपियाको नुबिया सहरमा प्रभुको सुसमाचारको कारण सहिद बने। उनलाई त्यहाँ जलाएर मारिएको थियो। यसरी मत्ती इथियोपियाली अर्थोडक्स मण्डलीका पिता बने। उनी अन्धकारमा ज्योतिको रूपमा चम्किएको कारण पछि सारा अफ्रिकामा सुसमाचार प्रचार हुन सक्यो।
मत्ती किन चुनिए?
येशूले मत्तीलाई आमाको गर्भमा आउनुभन्दा पहिले नै चिनेर अलग गर्नुभएको थियो (यर्मिया १:५)। उहाँले मत्तीलाई पहिले नै चुन्नुभएकोले उचित समय आएपछि आफ्नो कामको निम्ति बोलाउनु भयो। उनको जीवनबाट आफ्नो उद्देश्य पुरा गर्न परमेश्वरले मत्तीलाई असल परिवारमा जन्म हुन दिनुभयो। येशूका अरू चेलाहरूको तुलनामा मत्ती शिक्षित परिवारमा हुर्केका थिए। उनी इस्राएलको बाह्र कुलहरूमध्ये आदरयोग्य लेवी कुलका मानिस थिए। उनका पिता अल्फयस समाजमा आदरणीय व्यक्ति थिए (मर्कूस २:१४)। उच्च पारिवारिक पृष्ठभूमिको कारण उनले असल शिक्षा पाएका थिए। उनी ग्रीक भाषामा पोख्त भएकोले सुसमाचारको पुस्तक ग्रीक भाषामा लेख्न सके।
अर्को कुरा के हो भने, मत्ती येशूको जीवन र सेवकाइलाई प्रत्यक्ष अनुभव गर्ने साक्षी थिए। आफ्नो सेवकाइको सुरुवातमै येशूले मत्तीलाई चुन्नुभएकोले गर्दा पुरा तीन वर्ष उनी चेला बनेर उहाँसँगै रहे। येशूको सेवकाइ, क्रूसको मृत्यु, पुनरुत्थान र स्वर्गारोहणको प्रत्यक्ष साक्षी भएका कारण उहाँको बारेमा मत्तीले बताउन सक्ने कुराहरू थुप्रै थिए।
त्यति मात्र नभएर मत्ती नम्र व्यक्ति थिए। उनको हृदयमा आफ्नो पेशाको बारेमा धेरै दु:ख र अफसोस महसुस भएको हुनुपर्छ। धनी बन्नको निम्ति उनले मानिसहरूबाट अन्यायपूर्वक फाइदा उठाएका थिए। तसर्थ उनले आफूलाई अयोग्य र पापी ठान्थे। तर एकदिन प्रभु येशूसँग उनको भेट भयो अनि उहाँको बोलावट, स्वीकार र अनुग्रहले मत्तीलाई निकै प्रभाव पार्यो। उनी यति खुसी भए, कि उनले येशूको निम्ति आफ्नो घरमा भोजको तयारी गरे यद्यपि यो देखेर यहूदीहरूले ठट्टा गर्नेछन् भन्ने पनि उनलाई थाहा थियो। उनले येशूको सामु आफूलाई नम्र तुल्याएर पापी हुँ भनी स्वीकार गरे। त्यति मात्र नभएर येशूलाई पछ्याउनको निम्ति मत्तीले सबैकुरा त्याग्न राजी भए।
निष्कर्षमा यसरी भन्न सकिन्छ, कि मत्ती सुसमाचारको पुस्तक लेख्नको निम्ति योग्य व्यक्ति थिए। उनी यहूदी उच्च घरानाका शिक्षित व्यक्ति थिए साथै येशूको शिक्षा र सेवकाइको प्रत्यक्ष साक्षी पनि थिए।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को शिक्षाहरूमा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ। परमेश्वरको महिमा होस्।।