AMI Nepal

News याकूबको पुस्तक

याकूबको पुस्तक

/Systematic Theology
12 Mar 2023

याकूबको पत्र बाइबलको अन्तिम भागतिर भएको सानो पुस्तक हो; यसमा पाँचवटा अध्यायहरू छन्। यो पुस्तक इ.सं.४८ मा लेखिएको हो जसमा इसाई जीवनको महत्वपूर्ण पक्षहरू, जस्तै: विश्‍वास र काम, दु:ख-कष्‍ट, प्रार्थना, बोलि-वचन, उत्साह र चुनौति आदि। बाइबलमा थुप्रै याकूबहरू उल्लेख छन्, जसमध्ये यो पत्रचाहिँ येशू ख्रीष्‍टका भाइ याकूबले नै लेखेको हुनुपर्छ भन्‍ने बाइबल विद्वानहरूका भनाइ छ। गलाती १:१६ मा यसको विशेष आधार पाउन सकिन्छ। त्यहाँ पावलले भनेका छन् : “तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितहरूलाई मैले भेटिनँ।”

मरियम कन्या हुँदा नै येशूलाई जन्माइन् र  तिनले योसेफसँग विवाह गरेपछि चार जना छोराहरू अनि छोरीहरू पनि जन्माइन् भनी बाइबलले स्पष्टसँग बताउँछ।

“के यिनी सिकर्मीका छोरा होइनन्? के यिनकी आमाको नाउँ मरियम र यिनका भाइहरू याकूब, योसेफ, सिमोन र यहूदा होइनन्? के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र ? त यिनलाई सबै कुरा कहाँबाट प्राप्‍त भयो?” (मत्ती १३:५५-५६)

यहाँ येशूका चारजना भाइहरूका नाम उल्लेख गरिएको छ : याकूब, योसेफ, सिमोन र यहूदा। बाइबलमा लेखिएका नाउँहरूको क्रमले तिनीहरूको उमेर र दर्जालाई बुझाउँछ। यहाँ उल्लिखित नाउँहरूको क्रमलाई हेर्ने हो भने याकूब माहिला छोरा हुन् भनी हामी थाहा पाउँछौँ। योसेफ र मरियमकी छोरीहरू पनी थिए तर कति जना थिए अनि उनीहरूका नाम के-के थियो भन्‍ने जानकारी बाइबलले हामीलाई दिएको छैन। जे जस्तो भए तापनि संसारमा उनीहरू येशूको वैधानिक भाइ-बहिनीहरू थिए तर येशू तिनीहरूभन्दा निकै फरक  हुनुहुन्थ्यो भन्‍ने कुरालाई हामीले बिर्सनुहुँदैन। उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएर कन्या मरियमको कोखबाट जन्मनु भएको पवित्र परमेश्‍वरको पुत्र हुनुहुन्थो। यसलाई हामी मत्ती १:१६-२१ र लूका १:३४-३५ बाट प्रमाणित गर्नसक्छौँ। येशूको मानव अवतारको निम्ति मरियमको कोख परमेश्‍वरले १० महिनाको लागि प्रयोग गर्नुभएको थियो। येशूको संसारिक पिता योसेफसँग उहाँको कुनै जैविक अथवा शारीरिक सम्बन्ध थिएन किनभने उहाँ त्रिएकको दोस्रो व्यक्तित्व हुनुहुन्थ्यो र योसेफ भने साधारण मानिस थिए।

यस संसारमा करिब ३३ वर्ष रहनुहुँदा येशूका भाइ-बहिनीहरूले उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनेर विश्‍वास गरेनन् (यूहन्‍ना ७:५)। उहाँ ख्रीष्‍ट अथवा अभिषिक्त व्यक्ति हुनुहुन्थ्यो भनेर पनि तिनीहरूले चिन्‍न सकेनन्। पुरानो करारको मसिह (Messiah) भन्‍ने हिब्रू शब्दलाई नयाँ करारमा ख्रीष्‍ट (Christ) भनेर प्रयोग गरिएको छ, जुन ख्रीष्‍टोस (Christos) भन्‍ने ग्रीक शब्दबाट आएको हो। यी दुवैको अर्थ एउटै हो। येशू अभिषिक्त व्यक्ति हुनुहुन्थ्यो। अभिषिक्त भनेको परमेश्‍वरको सेवकाइको लागि अलग गरिएको भनेर बुझ्‍नुपर्छ। पुरानो करारको समयमा तीन प्रकारका मानिसहरूलाई अभिषेक गरिन्थ्यो : राजा (King), अगमवक्ता (Prophet), र पूजाहारी (Priest)।

यस संसारमा रहनुहुँदा येशूले ‘म ख्रीष्‍ट हुँ’ अथवा ‘म मसिह हुँ’ अथवा ‘म परमेश्‍वर हुँ’ भनी भन्‍नुभएन तर आफ्नो कामद्वारा उक्त सत्यतालाई प्रकट गर्नुभयो। आफ्नो जीवनशैली, शिक्षा र सेवाद्वारा उहाँले राजा, अगमवक्ता र पूजाहारीको भूमिका निभाउनुभयो। तसर्थ धेरैले उहाँलाई परमेश्‍वरको पुत्र भनी स्वीकार गरे तर आफ्नै भाइहरूले चाँहि उहाँलाई चिन्‍न नसकेकोले अस्वीकार मात्र गरेनन्, उहाँको विरोध पनि गरे। त्यतिमात्र होइन आत्मिक आँखा बन्द भएका यहूदीहरूले उहाँलाई सतावट दिएर मार्न खोजे।

परिवारमा जेठो छोरा भए तापनि येशू विभिन्‍न ठाँउमा भ्रमण गर्दै परमेश्‍वरको राज्यको सेवकाइ गर्नुहुन्थ्यो जसले गर्दा पारिवारिक जिम्मेवारी उहाँको भाइ याकूबको काँधमा थियो। तिनले बुवाआमालाई  सहायता गर्दै भाइबहिनीहरूको रेखदेख गर्दथे। येशू क्रूसमा मर्नुहुँदा तिनले बुबाआमा र भाइबहिनीहरूलाई सान्त्वना दिएको हुनुपर्छ। खासमा भन्‍ने हो भने येशूको मृत्‍युले उनका भाइहरूलाई त्यति असर पारेन किनभने त्यो येशूको आफ्नै भूल-गल्तीको कारणले भएको थियो भन्‍ने तिनीहरूका बुझाइ थियो। येशूले यहूदी धार्मिक अगुवाहरू र रोमी सरकारको विरुद्धमा विद्रोह गर्नुभयो भनी तिनीहरूले विचार गरे। जेजस्तो भए तापनि येशूले दिनुभएको शिक्षा र गर्नुभएको आश्‍चर्यकर्महरूचाहिँ तिनीहरूले देखेका र सुनेका थिए। त्यसैले उहाँ एक असाधारण व्यक्ति हुनुहुन्थ्यो भन्‍ने तिनीहरूले पक्‍कै विचार गरेको हुनुपर्छ।

मरियम विवाहपूर्व कन्या अवस्थामा हुँदा नै गर्भवती भएकी थिइन्। स्वर्गदूत आफूकहाँ देखापरेको घटना, येशूको जन्म र उहाँ ‘परमेश्‍वरको पुत्र हुनुहुन्छ’ भन्‍ने अलौकिक कुराहरू पक्‍कै मरियमले आफ्ना छोराछोरीहरूलाई बताएकी हुनुपर्छ। आफ्नो पिता योसेफसँग येशूको शारीरिक सम्बन्ध नभएकोले भाइबहिनीहरूसँग पनि उहाँको त्यति घनिष्‍ठ सम्बन्ध थिएन। तीन वर्षको सेवकाइ अवधिमा येशूले आफ्ना भाइबहिनीहरूको बारेमा कतै पनि चर्चा नगर्नुभएकोले गर्दा तिनीहरूसँग उहाँको पारिवारिक सम्बन्ध कस्तो थियो होला भनी हामी सजिलै अनुमान लगाउन सक्छौँ।

क्रूसमा मर्नुभएको येशू तीन दिनमा पुनरुत्थान हुनुभएको देखेर उहाँका भाइहरू छक्‍क परे। उक्त अचम्मको ईश्‍वरीय घटनापछि मात्र तिनीहरूले येशू ‘ख्रीष्ट’ र ‘परमेश्‍वरको पुत्र’ हुनुहुँदोरहेछ भनेर चिने। याकूबले उक्त सत्यतालाई स्वीकारेर चेलाहरूको समूहमा सहभागी भए। पुनरुत्थानपछि मात्र येशूलाई विश्‍वास गरेको भए तापनि उनी येशूको आफ्नै भाइ भएको कारणले गर्दा प्रेरितहरूले उनलाई आदर गरी मण्डलीमा अगुवाको स्थानमा राखे। त्यसको फलस्वरूप पछि याकूब यरूशलेम मण्डलीको मुख्य अगुवा बन्‍न सफल भए। तसर्थ, परमेश्‍वरले कसलाई, कुनबेला, कसरी उहाँको कामको निम्ति प्रयोग गर्नुहुन्छ भनी हामी भन्‍न सक्दैनौँ। यस रहस्यको बारेमा पावलले अति महत्वपूर्ण कुरा लेखेका छन्। “के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्‍छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?” (रोमी ९:२१)।

“बिहान भएपछि उहाँले आफ्‍ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्‍ये बाह्र जनालाई छान्‍नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्‍ने नाउँ दिनुभयो: सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र
तिनका भाइ आन्‍द्रियास, याकूब र यूहन्‍ना, फिलिप र बारथोलोमाइ, मत्ती र थोमा, अल्‍फयसका  छोरा
याकूब, र सिमोन, जो उग्रपन्‍थी भनिन्‍थे, याकूबका छोरा यहूदा, र यहूदा इस्‍करियोत, जो विश्‍वासघाती
भए” (लूका ६:१३-१६)।

अब हामी येशूका चेलाहरू कति र कस्ता थिए भन्‍ने बारेमा चर्चा गरौँ। सुरुमा उहाँले १२ जना चेलाहरू छान्‍नुभयो (मत्ती१०:२-४)। केही समयपछि उहाँले सेवकाइको निम्ति ७० जनालाई नियुक्त गर्नुभयो (लूका १०:१)। पुनरुत्थान हुनुभएपछि उहाँ बाह्रै चेलाहरूकहाँ देखा पर्नुभयो र साथै एकै समयमा ५०० भन्दा बढी (करिब ६००) मानिसहरूकहाँ पनि देखा पर्नुभयो (१ कोरिन्थी १५:५-७)। तिनीहरू सबैले येशूलाई पछ्याएका हुनुपर्छ। याकूबकहाँ पनि उहाँ देखा पर्नुभयो किनभने उनको जीवनमा परमेश्‍वरको ठूलो योजना र उद्देश्य थियो। स्वर्गारोहण हुनुभन्दा केही क्षणअघि येशूले चेलाहरूलाई यसो भन्‍नुभयो : ‘तिमीहरू यरूशलेम छोडेर कतै नजाओ; प्रार्थना गर्दै पवित्र आत्माको प्रतिक्षा गर (प्रेरित १:४); पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ र उहाँले तिमीहरूलाई शक्ति दिनुहुनेछ’ (प्रेरित १:८)। त्यसबेला उहाँले ती चेलाहरूलाई भन्‍नुभएको कुरा के थियो भने शक्ति दिनुहुने पवित्र आत्मा (पारा-क्लेटोस, Para-Cletos) पाउनको लागि तिनीहरूले प्रार्थना र प्रतिक्षा- दुवै गर्नु आवश्यक छ। ६०० चेलाहरू मध्ये १२० जनाले मात्र येशूको उक्त आज्ञालाई शिरोपर गरेर लगातार १० दिनसम्म मर्कूसको आमा मरियमको घरको माथिल्लो तल्लामा जम्मा भएर प्रार्थना गरिरहे (प्रेरित १:१५)। पचासौँ दिन अर्थात् पेन्तिकोसको दिनमा तिनीहरूले पवित्र आत्माको बप्‍तिस्मा पाए जुन कुरा येशूले पहिले नै भविष्यवाणी गरिसक्‍नुभएको थियो (यूहन्‍ना १४:१६)। पवित्र आत्माको बप्‍तिस्मा अर्थात् पारा-क्लेटोस पाइसकेपछि तिनीहरूले शक्ति पाएर अचम्मको कामहरू गर्नथाले। पवित्र आत्माको शक्तिमा पत्रुसले प्रचार गर्दा एकै दिनमा ३,००० मानिसहरूले येशूमा विश्‍वास गरेर बप्‍तिस्मा लिए (प्रेरित २:४१)। थुप्रै रोगी बिरामीहरू निको भए अनि दुष्‍ट आत्माद्वारा सताइएकाहरू स्वतन्त्र भए। पारा-क्लेटोसको शक्तिमा पत्रुसको छाया पर्दाखेरि सबै किसिमका बिरामीहरू निको भए (प्रेरित ५:१५)।

पेन्तिकोसको घटनालाई केलाउने हो भने हामीले थाहा पाउँछौँ, कि त्यतिबेला २०% चेलाहरूले मात्र येशूको आज्ञापालन गरेका थिए किनभने उहाँको आज्ञा करिब ६०० जनाले सुनेका थिए तर १२० जनाले मात्र माथिल्लो तल्लाको कोठामा पारा-क्लेटोसको शक्ति प्राप्‍त गरे। तसर्थ सबै इसाईहरू आज्ञाकारी हुन सक्दैनन् भन्‍ने कुरा यहाँबाट बुझ्‍न सकिन्छ।

पन्यूमा (Pneuma) र पारा-क्लेटोस (Para-Cletos) एउटै पवित्र आत्मा हुनुभए तापनि बाइबलमा उल्लिखित फरक नाउँहरूले उहाँको फरक-फरक कामलाई बुझाउँछ। हामीले येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर विश्‍वास गर्दा उहाँलाई हाम्रो जीवनमा निम्त्याउँछौँ। अनि उहाँको आत्मा अर्थात् पन्यूमा (Pneuma) हामीभित्र आउनुहुन्छ, र हामीले ‘नयाँ जीवन’ अर्थात् ‘अनन्त जीवन’ पाउँछौँ। यसलाई यसरी बुझौँ- पन्यूमाद्वारा हामी वैधानिक रूपमा इसाई बन्छौँ अनि पारा-क्‍लेटोसद्वारा हाम्रो जीवनद्वारा परमेश्‍वरका शक्तिशाली कार्यहरू प्रकट हुन थाल्नेछन्। येशू प्रभुले चेलाहरूलाई यूहन्‍ना १४:१६ मा ‘अर्को सल्लाहकार’ पठउने प्रतिज्ञा गर्नुभयो। यस पदमा ‘अर्को’ भन्‍ने शब्दलाई बझाउन ग्रीक भाषाको ‘आलोस’ (ALLOS) शब्द प्रयोग गरिएको छ जसको अर्थ समान गुण, समान शक्ति र समान अधिकार तर फरक अवस्थामा प्रस्तुत हुने भन्‍ने अर्थ लाग्छ।

यूहन्‍ना १४ अध्याय अन्तिम रात्रीभोजको घटना हो। त्यतिबेला येशूले ‘अर्को सल्लाहकार’ अर्थात् ‘पारा-क्लेटोस’ पठाउने प्रतिज्ञा गर्नुभयो। ती चेलाहरूले पन्यूमा पहिले नै पाइसकेका थिए। यसलाई प्रेरित १:४ ले पुष्‍टि गर्न सकिन्छ : “तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, ‘तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतिक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।” त्यसबेला येशूले चेलाहरूलाई ४३ दिनअघि अन्तिम रात्रिभोजमा भन्‍नुभएका कुराहरू स्मरण गराउँदै हुनुहुन्थ्यो। स्वर्गारोहण हुने बेलामा भन्‍नुभएको कुरा १२० जना चेलाहरूले आज्ञापालन गरेकोले पेन्तिकोसको दिनमा तिनीहरूले ‘पारा-क्लेटोस’ पाए।

हामीले यहाँ बुझ्‍नुपर्ने कुरा के हो भने पन्यूमाले नयाँ जन्म दिने काम गर्छ र पारा-क्लेटोसले चाहिँ येशूको गवाही हुन शक्ति दिने काम गर्छ। पारा-क्लेटोस पाएको व्यक्तिले अरू जातिहरू बसोवास गर्ने नयाँ ठाउँहरूमा गएर सुसमाचार प्रचारको काम गर्दछ। पारा-क्लेटोस पाउनुको उद्देश्य मिसनको काममा येशूको महान् आज्ञा पूरा गर्न मानिसहरूलाई सक्रिय बनाउनु हो। “तर पवित्र आत्मा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेम, सारा यहूदियामा, सामरियामा, र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” (प्रेरित १:८)। प्रभु येशूको महान् आज्ञापालन गर्ने व्यक्तिहरू तयार पार्ने उद्देश्यले AMI College & Seminary सुरु भएको हो। विभिन्‍न देशका विद्यार्थीहरू यहाँ ईश्‍वरशास्‍त्र अध्ययन गर्दैछन्। साथै थुप्रै राष्‍ट्रहरूमा यसको शाखाहरू खोलेर परमेश्‍वरको राज्यको सुसमाचार संसारको कुना-कुनामा पुर्‍याउने अभियान सुरु भइसकेको छ। यस अभियानलाई सफल बनाउने उद्देश्य सबैमा होस् भन्‍ने हाम्रो प्रार्थना छ।

याकूब सुरुको प्रेरितहरूमा नपरे तापनि यरूशलेम मण्डलीको संस्थापकहरूमध्ये एक हुन्। उक्त मण्डलीको अरू अगुवाहरूले उनलाई आदर गर्दथे। याकूबको बारेमा थप जानकारी पाउनको लागि यी बाईबल खण्डहरू अध्ययन गर्नुहोस् : १ कोरिन्थी १५:७, प्रेरित ११:२१-३०; १२:१७; १५:६-२९; २१:१७-२३, गलाती १: १८-२०; १:११-१२ आदि।

मण्डली इतिहासलाई अध्ययन गर्ने हो भने पावलले पनि याकूबको अगुवापनलाई स्वीकार गरेको तथ्य हामी थाहा पाउन सक्छौँ (प्रेरित १५:१३-२१)। पावल सुरुका प्रेरितहरूमध्येका व्यक्ति थिएनन् र उनी यरूशलेम मण्डलीको संस्थापक पनि होइनन्। येशू यस संसारमा हुनुहुँदा पावलले उहाँलाई देख्‍ने मौका पाए कि पाएनन् हामी जान्दैनौँ। पहिले उनको नाम शाऊल थियो। उनी पढेलेखेको र यहूदी धर्मशास्‍त्रमा पोख्त उच्‍च ओहोदाका व्यक्ति थिए। उनले विश्‍वासीहरूलाई पटक्‍कै मन पराउँदैनथे। त्यतिमात्र होइन उनी त विश्‍वासीहरूलाई सताउने र मण्डलीलाई संहार गर्ने काममा लागेका थिए। इ.सं.३४ तिर स्तिफनसको हत्यामा तिनी पनि सहभागी थिए। त्यसैले यरूशलेम मण्डलीका अगुवाहरूले पावललाई मन पराउँदैनथे।

“तिनको हत्यामा शाऊल पनि सहमत थिए। त्यसै दिन यरूशलेममा भएका मण्डलीको विरूद्ध, ठूलो सतावट सुरु भयो, र प्रेरितहरूबाहेक तिनीहरू सबै यहुदिया, सामरियाका इलाकातिर छरपस्ट भए। भक्त जनहरूले स्तिफनसलाई लगेर गाडे, र तिनको निम्ति ठूलो विलाप गरे। तर शाऊलले चाहीँ घर-घरमा पसेर मण्डलीलाई संहार गरिरहेका थए। तिनले पुरूष र स्‍त्रीहरूलाई घिस्साउँदै लगी झ्यालखानामा हालिदिन्थे” (प्रेरित ८:१-३)।

इ.सं.३५ मा दमस्कसतिर जाँदैगर्दा पावलले प्रभु येशूको दर्शन पाएपछि तिनको जीवन अचम्म रीतिले परिवर्तन भयो। त्यसबेला उनी ३० वर्षका जवान थिए (उनी इ.सं.५ मा जन्मेका थिए)। येशूलाई विश्‍वास गरेको १० वर्षसम्म उनले थुप्रै प्रतिकुल परिस्थितिहरूको सामना गर्नुपर्‍यो। त्यतिबेला उनले चाहे पनि प्रभावकारी रूपमा सेवकाइ गर्ने अवसर पाएनन्। लामो समयपछि बारनाबासको सहायताले उनले इ.सं.४५ मा एन्टियोक मण्डलीमा सेवकाइ गर्ने अवसर प्राप्‍त गरे (प्रेरित ११:२५-२६, १५:३५)। उक्त घटनाको एक वर्षपछि बारनाबाससँग मिलेर पावलले गलातिया अर्थात् अहिलेको टर्कीको दक्षिणी क्षेत्रहरूमा प्रचार गरे। त्यो मिसन यात्रा दुई वर्ष लामो थियो (इ.सं.४६-४८)।

उक्त मिसन यात्रामा गलातियातिर जाँदा यरूशलेम मण्डलीबाट छरपस्ट भएका यहूदी विश्‍वासीहरूसँग पावलको भेट भयो। तिनीहरूलाई उनले येशू ख्रीष्‍टको अनुग्रहबाट मात्र उद्धार पाइन्छ भन्‍ने सुसमाचार प्रचार गरेकोले ‘ईश्‍वरशास्‍त्रीय समस्या’ उत्पन्‍न भयो। त्यसको मुख्य कारण के थियो भने यरूशलेम मण्डलीबाट आएका यहूदी विश्‍वासीहरूसँग उद्धारको लागि येशूमा विश्‍वास गर्नुको साथसाथै पुरानो करारको यहूदी व्यवस्थाहरू पनि पालन गर्नु पर्छ भन्‍ने बुझाइ थियो। यरूशलेम मण्डलीका अगुवाहरूबाट तिनीहरूले पहिले त्यस्तै शिक्षा पाएका थिए।

पावलले येशू ख्रीष्‍टमा विश्‍वास गरेपछि अनुग्रहद्वारा मात्र उद्धार पाइन्छ भनी सिकाए। उद्धार पाउन पुरानो करारको व्यवस्थाहरू पालन गर्नु आवश्यक छैन भनेर प्रचार गरेपछि तिनीहरूले पावलनाई झुटा शिक्षा प्रचार गरेको भनेर आरोप लगाए। त्यो कुरा गलातियामा सीमित रहेन। पावलले झूटो शिक्षा सिकायो भन्‍ने हल्ला यरूशलेमसम्म पुग्यो। त्यो खबरको कारणले यरूशलेम मण्डलीका अगुवाहरू पावलसँग रिसाए। वास्तवमा यरूशलेम मण्डलीका अगुवाहरूसँग पावलको सम्बन्ध सुरुदेखि नै त्यति राम्रो थिएन झन् उक्त कुराले आगोमा घ्यू थप्‍ने काम गर्‍यो।

त्यो मुद्दा गम्भीर प्रकृतिको भएकोले गर्दा दुई वर्ष लामो यात्रा सकेपछि इ.सं.४८ मा पावल यरूशलेम मण्डलीमा गई आफूलाई लागेको अभियोग रद्द गर्न अगुवाहरूको माझमा स्पष्टिकरण दिनुपर्ने अवास्था सृजना भयो। खुसीको कुरा के हो भने त्यतिबेला बारनाबास उनीसँगै थिए। पावल र बारनाबास यरूशलेम पुग्दा पत्रुस निकै रिसाएका थिए। सुरुदेखि नै उनको रिसाउने र तुरुन्तै निर्णय लिइहाल्ने स्वभाव थियो। त्यतिबेलाको समस्या समाधान गर्न येशूको भाइ याकूबले महत्वपूर्ण भूमिका निभाए। यसर्थ याकूबले लेखेको पत्रलाई बुझ्नको निम्ति उनको स्वभाव, जीवनशैली र अगुवापनलाई हामीले राम्रोसँग थाहा पाउनु पर्छ। आउनुहोस्, यो बाइबल खण्डलाई निकै ध्यान दिएर हेरौँ।

“तिनीहरूले बोलिसकेपछि याकूबले यसो भने, “भाइ हो, मेरो कुरा सुन्‍नुहोस, परमेश्‍वरले आफ्नो नाउँको निम्ति अन्यजातिहरूबाट एउटा जाति छान्‍ने कृपा गर्नुभयो भन्‍ने  कुरा सिमोनले बताएका छन्। यसै कुरासँग अगमवक्ताका वचन पनि मिल्छन्, जस्तो लेखिएको छ, ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको भत्केको वासस्थान फेरि बनाउनेछु, त्यसको भग्‍नावशेष म फेरि बनाइदिनेछु, र त्यसलाई खडा गर्नेछु, र बाँकी मानिसहरूले परमेश्‍वरलाई खोज्न सकून्, र सबै अन्यजातिहरूले पनि जुन मेरो नाउँद्वारा बोलाइएका छन्, यो कुरा परमप्रभु भन्‍नुहुन्छ, जसले प्राचिन कालदेखि यी कुराहरू जनाउनु भएको छ, जो सृष्टिको आरम्भदेखि जानिएका छन्। यसकारण मेरो फैसला यो छ, कि परमेश्‍वरतर्फ फर्कने अन्‍यजातिहरूलाई हामी दु:ख नदिऔँ तर तिनीहरूलाई यी कुरा लेखिदिऔँ, कि तिनीहरू मूर्तिपूजाको अशुद्धताबाट अलग्‍ग रहून्‌, व्‍यभिचारबाट, घोक्रो अँठ्याएर मारेको पशुको मासु र रगतबाट अलग्‍ग रहून्‌। किनभने अघिका पुस्‍तादेखि नै सहरैपिच्‍छे मोशाका व्‍यवस्‍थाको प्रचार भइरहेको छ, किनकि यो हरेक सभाघरमा हरेक शबाथमा पढिँदै छ” (प्रेरित १५:१३-२१)।

याकूबको यो भनाइलाई सबैले स्वीकार गरेकोले यरूशलेमको परिषदले यसैअनुसारको निर्णयलाई लिखित रूपमा सबैतिर पठायो जसको कारणले गर्दा पावलको शिक्षालाई त्यहाँका विश्‍वासीहरूले स्वीकार गरे (प्रेरित १५:२२-३५ पढ्‍नुहोस्)। यसरी याकूबले उक्त ईश्‍वरशास्‍त्रीय समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निभाउनुको साथै मण्डलीको अगुवाहरूको माझमा मेलमिलापको वातावरण पनि विकास गरे। त्यसबेला उत्पन्‍न भएको मनमुटाव, विवाद र जटिल ईश्‍वरशास्‍त्रीय समस्यालाई याकूबले राम्रोसँग समाधान गरेको हुनाले हामी के भन्‍न सक्छौँ भने यद्यपि उनी सुरुका प्रेरित नभए तापनि पछि गएर मण्डलीमा प्रभावशाली र असल अगुवा बन्‍न सफल भए। त्यसकारण उनले लेखेको पत्रद्वारा हामी उनको असल आत्मिक र व्यवहारिक शिक्षाहरू, उत्साहहरू र चुनौतिहरूलाई स्वीकार गरेर परमेश्‍वरको राज्यको निम्ति सेवकाइमा अभ्यास गर्न सक्‍नेछौँ। अन्तमा भन्‍नुपर्दा, जुनसुकै पुस्तक किन नहोस्, त्यसलाई पढ्‍नुभन्दा पहिले त्यसको लेखकलाई चिन्‍नु र जान्‍नुले ठूलो अर्थ राख्छ। तसर्थ हामीले याकूबको पत्रलाई अध्ययन गर्नुभन्दा पहिले याकूबको व्यक्तिगत कुराहरू र तत्कालिन ऐतिहासिक पक्षहरूलाई चर्चा गर्नेछौँ, ताकि हाम्रो अध्ययन सार्थक अनि आशिषमय हुन जानेछ। २,००० वर्ष पहिले लेखिएको याकूबको पत्रले हाम्रो वर्तमान र भविष्यको जीवन र सेवकाइमा ठूलो परिवर्तन ल्याउनेछ भन्‍ने सकारात्मक सोच लिएर प्रार्थनासाथ आफ्नो हृदयलाई तयार पारौँ।

User Reviews