AMI Nepal

News येशूले दिनुभएको डाँडाको उपदेशको परिचय

येशूले दिनुभएको डाँडाको उपदेशको परिचय

/SERMON ON THE MOUNT
14 Mar 2023

येशू ख्रीष्टले डाँडाबाट दिनुभएको उपदेशहरू बाइबलमा दुई ठाउँमा उल्लेख छन्। पहिलो खण्ड मत्ती ५ देखि ७ अध्यायहरू हुन् भने दोस्रो खण्डचाहिँ मत्ती २४ र २५ अध्यायहरू हुन्। पहिलो उपदेश उहाँले सार्वजनिक सेवकाइको प्रारम्भमा दिनुभयो भने दोस्रो उपदेश क्रूसमा बलिदान हुनुभन्दा केही दिन अगाडि दिनुभयो। मत्ती ५ देखि ७ अध्यायहरूका शिक्षा उहाँले गालील क्षेत्रमा पर्ने सानो पहाडबाट दिनुभएको थियो। त्यो डाँडा कफर्नहुम र खोराजिनको बीचमा पर्छ। बाइबल विद्वान्‌हरूले उक्त डाँडालाई येशूले उपदेश दिनुभएको डाँडा भन्दछन्। येशू ख्रीष्‍ट सेवकाइको लागि कफर्नहुममा करिब ३ वर्षसम्म बस्‍नुभयो र उहाँको सेवकाइको केन्द्रबिन्दु त्यही ठाउँ थियो। त्यसको नजिक पर्ने बेथसेदा माझीहरूको गाउँ थियो र पत्रुसको घर त्यहीँ पर्थ्यो। बेथसेदाको पछाडिपट्टि पर्ने पहाडमा येशूले निस्तार चाडमा पाँच हजारभन्दा बढी मानिसहरूलाई रोटी र माछा खुवाउनुभयो (यूहन्‍ना ६:१-१५)।

मत्ती २४ र २५ अध्यायहरूमा उल्लिखित शिक्षा येशूले क्रूसमा टाँगिनुभन्दा तीन दिनअगाडिको मङ्गलवार दिनुभएको थियो। त्यो शिक्षा उहाँले यरूशलेमको नजिकै पर्ने जैतुन डाँडाबाट दिनुभएको थियो। यरूशलेम मन्दिरको चोकबाट निस्‍केर किद्रोन उपत्यका पार गर्दै अलि पूर्वतिर गएपछि दुइ वटा पहाडहरू छन् जसलाई गेतसमनी डाँडा र जैतुन डाँडा भनिन्छ।

त्यो दिन येशूले मन्दिरको चोकबाट शिक्षा दिनु भएपछि पूर्वी ढोकाबाट निस्‍केर किद्रोन उपत्यका हुँदै जैतुन डाँडामा जानुभयो। त्यहाँबाट येशूले चेलाहरूलाई महत्वपूर्ण शिक्षाहरू दिनुभयो। त्यसबेला येशूले चेलाहरूलाई उहाँको दोस्रो आगमनअघि हुने घटनाहरूका बारेमा बताउनुभयो र सात वटा दृष्टान्तहरूद्वारा उठाई लगिने विश्‍वासीहरूमा हुनुपर्ने योग्यताहरू पनि बताउनुभयो (मत्ती २४:३७-२५:४६)।

मत्ती ५ देखि ७ अध्यायहरूमा उल्लिखित डाँडाको उपदेश विश्‍वासीहरूले पालन गर्नुपर्ने मुख्य आत्मिक शिक्षा हो। यसको संक्षिप्‍त विवरण लूका ६:१७-४९ मा उल्लिखित छ। त्यहाँ येशूले यस्ता कुराहरू भन्‍नुभएको छ: यी शिक्षाहरू पालन गर्‍यौ भने तिमीहरू आशिषित हुनेछौ। तिमीहरू परमेश्‍वरको राज्यमा विशेष व्यक्तिहरू हुनेछौ। तिमीहरूले स्वर्गमा इनाम पाएर उच्‍च स्थानमा रहनेछौ। तिमीहरू यस संसारमा नून र ज्योति हुनेछौ। तिमीहरू पाखण्डी स्वभाव नभएका सिद्ध विश्‍वासीहरू हुनेछौ। तिमीहरूले सत्रुलाई प्रेम गर्नेछौ। तिमीहरूले दुइ मालिकको सेवा गर्नेछैनौ। तिमीहरू परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्दै साँघुरो ढोकाबाट छिर्नेछौ। तिमीहरू बालुवामा घर बनाउने मूर्ख मानिसजस्तो होइन तर चट्टानमाथि घर बनाउने बुद्धिमान् मानिस हुनेछौ।

उहाँका चेलाहरूलाई ती आज्ञाहरू पालन गर्न धेरै गाह्रो थियो किनभने त्यो शिक्षा येशूले तिनीहरूलाई चुन्‍नेबित्तिकै दिनुभएको थियो। तर पछि गएर पेन्‍तिकोसको अनुभवपछि पवित्र आत्माको शक्तिमा तिनीहरूले ती आज्ञाहरू पालन गर्न सके।

डाँडाको उपदेशमा आज्ञाहरूको साथमा शर्तहरू छन्। त्यहाँ हामीले यस्ता वाक्यहरू भेट्टाउँछौँ: तिमीहरूले मेरा वचनहरू पालन गर्‍यौ भने आशिष् पाउनेछौ तर यदि तिमीहरूले यी वचनहरू पालन गरेनौ भने आशिष् पाउने छैनौ। सारंशमा भन्‍नुपर्दा यो संसारमा सबै कुरा गरेर डाँडाको उपदेश पालना गर्दैनौँ भने हामी बालुवामा घर बनाउने मूर्ख मानिसजस्तै हुनेछौँ। त्यसैले हरेक विश्‍वासीहरूले डाँडाको उपदेश पालन गर्नु अति महत्वपूर्ण छ।

User Reviews