AMI Nepal

News सर्वज्ञानी परमेश्‍वर

सर्वज्ञानी परमेश्‍वर

26 May 2023

बाइबलले त्रिएक परमेश्‍वर सर्वज्ञानी हुनुहुन्छ भनी बताउँछ, र यस कुरालाई थुप्रै तरिकाहरूद्वारा अभिव्यक्त गर्दछ; जस्तै: पहिल्यै चिन्‍नुहुने परमेश्‍वर (रोमी ८:२९), अघिबाटै नियुक्त गर्नुहुने अथवा पूर्व-निर्धारण गर्नुहुने परमेश्‍वर (रोमी ८:२९), असीमित बुद्धिको परमेश्‍वर (रोमी ११:३३) र अरू यस्तै नाउँहरू।

हाम्रो सर्वज्ञानी परमेश्‍वरको पूर्वज्ञानले क्रूसमा येशूको प्रायश्‍चितको बलिदान पहिल्यै जान्‍नुहुन्थ्यो र उहाँले उक्त घटनालाई पहिले नै पूर्वनिर्धारण गरेर त्यसको निम्ति येशूलाई नियुक्त गर्नुभएको थियो (प्रेरित २:२३; १ पत्रुस १:२०)। यो कुरा मानवीय बुद्धिभन्दा बाहिरको कुरा हो, त्यसकारण यो परमेश्‍वरको बुद्धिअन्तर्गत पर्ने परमेश्‍वरको रहस्य हो (१ कोरिन्थी २:७-१०)।

पहिल्यै नियुक्त गर्नुहुने हाम्रो परमेश्‍वरले आफ्ना सेवकहरूलाई, तिनीहरू आफ्ना आमाको गर्भमा बनिनुभन्दा पहिले नै उहाँको योजनाअनुसारको काम गर्नको निम्ति पूर्वनिर्धारित भइसकेका थिए, अनि त्यसको निम्ति छुट्ट्याई सकिएका र चुनी सकिएका थिए। धर्मशास्‍त्र बाइबलमा यसको थुप्रै उदाहरणहरू छन्; जस्तै: यर्मिया आफ्नो आमाको गर्भमा बनिनुभन्दा पहिले परमेश्‍वरले उसलाई जान्‍नुहुन्थ्यो, उसको जन्म हुनुभन्दा अघि नै परमेश्‍वरले उसलाई अलग गर्नुभयो र जाति-जातिहरूका निम्ति अगमवक्ता हुनको निम्ति परमेश्‍वरले उसलाई नियुक्त गर्नुभयो (यर्मिया १:५)। परमेश्‍वरको आँखाले दाऊदको नबनिएको शरीरलाई देख्‍नुभयो र दाऊदको जीवनको दिनहरू हुन आउनुभन्दा पहिले नै ती परमेश्‍वरको पुस्तकमा लेखिएका थिए (भजन १३९:१६)। पावल पहिले नै उसको आमाको गर्भमा छँदा चुनिएको थियो र अन्यजातिहरूका निम्ति प्रेरित हुनको निम्ति उसलाई अलग गरिएको थियो (प्रेरित ९:१५; गलाती १:१५-१६)। त्यसैगरी आफ्नो इच्छा पूरा गर्न परमेश्‍वरले थुप्रै अरू सेवकहरूलाई तिनीहरूको जन्मभन्दा अघि नै पूर्वनिर्धारण गरी तिनीहरूलाई उहाँको सेवाको निम्ति छान्‍नुभयो (रोमी ८:२९; १ पत्रुस १:२)।

हाम्रो परमेश्‍वरको बुद्धि असीमित छ (भजन १४७:५; रोमी ११:३३) र उहाँले हरेक कुरा जान्‍नुहुन्छ (१ यूहन्‍ना ३:२०)। त्यसकारण हरेक थोक खोलिएको अवस्थामा परमेश्‍वरको नजरको सामुन्‍ने राखिएका छन् (हिब्रू ४:१३)। मानिसको टाउकोमा भएका केशहरू पनि येशूले गन्‍नुहुन्छ (मत्ती १०:३०)। उहाँले पृथ्वीमा भएका सबै दुष्ट र असल मानिसहरूलाई हेर्नुहुन्छ र तिनीहरूले गर्ने हरेक कुरा उहाँले विचार गर्नुहुन्छ (हितोपदेश १५:३: भजन ३३:१३-१५)। तिनीहरू बस्दा र उठ्दा उहाँले तिनीहरूलाई जान्‍नुहुन्छ। तिनीहरूका विचारहरू उहाँले टाढैबाट बुझ्नुहुन्छ। तिनीहरू बाहिर गएको अनि भुइँमा ढल्किएको पनि उहाँले छुट्ट्याउनुहुन्छ। तिनीहरूका सबै तरिका र बाटोहरूप्रति उहाँ परिचित हुनुहुन्छ। तिनीहरूका जिब्रोमा कुनै शब्द आउनुभन्दा पहिले उहाँले त्यसलाई पूर्णरूपमा जान्‍नुहुन्छ। यहोवा परमेश्‍वर, येशूको बुद्धि सर्वोत्तम भएकोले (यशैया २८:२९), सर्वज्ञानी परमेश्‍वरको उपस्थितिबाट कुनै मानिस भाग्‍न सक्दैन (भजन १३९:१-८; यशैया २९:१५)।

असल काम गर्दा झूटो आरोप लागेर दु:ख-कष्ट भोग्‍नुपर्दा हामी चिन्तित हुनुपर्दैन किनभने तोकिएको समय आएपछि सर्वज्ञानी परमेश्‍वरले हामीलाई कटनी गर्न दिनुहुनेछ (गलाती ६:९)। हामीहरू सर्वज्ञानी परमेश्‍वरका जनहरू भएकोले गर्दा हामीले बदला लिने काम गर्नुहुँदैन तर त्यसको निम्ति सर्वज्ञानी परमेश्‍वरलाई नै स्थान दिनुपर्छ, किनभने यस्तो लेखिएको छ: “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ। बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्‍यसलाई खुवाओ, त्‍यो तिर्खाएको छ भने त्‍यसलाई पानी देओ। त्‍यसो गर्नाले तिमीले त्‍यसको टाउकोमा आगोको भुङ्‌ग्रो थुपार्नेछौ” (रोमी १२:१९-२०)। तोकिएको समय आएपछि परमेश्‍वरले हामीलाई सबै किसिमको अन्याय र दुर्व्यवहारबाट पुनर्थापित गर्नुहुनेछ।

आफ्ना सन्तानहरूलाई के खाँचो छ भनी परमेश्‍वर जान्‍नुहुन्छ र उहाँले त्यसको प्रवन्ध गर्नुहुन्छ। त्यसैकारणले गर्दा हामीले माग्‍नुभन्दा पहिले हाम्रो पिताले हामीलाई के खाँचो परेको छ भनी जान्‍नुहुन्छ भनी येशूले भन्‍नुभयो (मत्ती ६:८)। तर यसको मतलब हामीले प्रार्थना गर्नु आवश्यक छैन भनेको होइन। परमेश्‍वरसँग एकता हुनको  निम्ति हामीले प्रार्थना गर्नैपर्छ। त्यसकारण, कसरी प्रार्थना गर्ने भनेर सिकाउन प्रभुको प्रार्थनामा येशूले हामीलाई व्यक्तिगतरूपमा सिकाउनुभयो (मत्ती ६:९-१३)।

हाम्रो निम्ति येशूले सिकाउनुभएको उक्त प्रार्थनाको नमुनालाई यदि हामी हर्दैछौँ भने, त्रिएक परमेश्‍वरको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै यस पृथ्वीमा पूरा भएको होस् भनी येशूले पहिले हामीलाई सिकाउनुभएको कुरा देख्दछौँ। परमेश्‍वरको इच्छा भनेको पापपूर्ण मानवजातिलाई बचाउने उहाँको योजना हो। उक्त मुक्तिको योजना स्वर्गमा पहिले नै पूरा भइसकेको छ (उत्पत्ति ३:१५; प्रेरित २:२३; १ कोरिन्थी २:७-१०; १ पत्रुस १:२०); र अब त्यो यस पृथ्वीमा पूरा हुनेछ। हाम्रो इच्छा परमेश्‍वरको इच्छासँग एक बनाउनुपर्ने कुरामा हामी निश्‍चित हुनु पर्छ। तैपनि, स्वर्गमा हुनुहुने हाम्रो पिता हामीबाट निकै टाढा हुनुभएकोले गर्दा, प्रार्थनारूपी सञ्‍चारको सम्पर्कद्वारा मात्र हामी उहाँको इच्छासँग एकतामा आउन सक्छौँ।

परमेश्‍वरको इच्छाको निम्ति प्रार्थना गरिसकेपछि मात्र हामीले हाम्रा खाँचोहरूको निम्ति उहाँसँग प्रार्थना गर्नुपर्छ। त्रिएक परमेश्‍वरको इच्छाअनुसार जिउनको लागि हाम्रो शरीरको निम्ति दैनिक रोटी, हाम्रो प्राणको निम्ति दैनिक रोटी र हाम्रो आत्माको निम्ति दैनिक रोटी आवश्यक पर्दछ। अर्को कुरा के हो भने, हामीले सधैँ हाम्रो विरुद्धमा अपराधा गर्ने छिमेकीहरूसँग क्षमा, दया र प्रेमको सम्बन्ध कायम राख्‍नुपर्छ र साथै हामीले तिनीहरूका विरुद्धमा अपराध गरेका छौँ भने उहाँहरूबाट त्यसको क्षमा पाएको हुनुपर्छ। त्यसको साथै दुष्टद्वारा परीक्षामा नपर्नको निम्ति पनि हामीलाई सधैँ त्रिएक परमेश्‍वरको सहायता आवश्यक पर्दछ।

प्रार्थना भनेको हाम्रो इच्छालाई परमेश्‍वरको इच्छासँग मिलाउने आत्मिक स्वास-प्रस्वास प्रक्रिया हो। यो हाम्रो भाग्य बनाउन र आफ्नो खाँचो पूरा गर्न गरिने तन्त्र-मन्त्रद्वारा प्रेतात्मासँग सञ्‍चार गर्ने काम होइन (मत्ती ६:९-१३)। परमेश्‍वरलाई नजान्‍ने अविश्‍वासीहरूले मात्र आफ्नो भाग्य निर्माण र समस्या समाधानको निम्ति त्यस किसिमको पुजा-पाठ र तन्त्र-मन्त्र गर्ने गर्छन्। परमेश्‍वरको सन्तानले गर्ने प्रार्थना भनेको परमेश्‍वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नु हो, जसको मतलब पहिले हाम्रो इच्छालाई त्रिएक परमेश्‍वरको इच्छासँग एकतामा पुर्‍याउनु हो (मत्ती ६:३२-३३)। हामीले त्यसो गर्दा सर्वज्ञानी परमेश्‍वर आफ्नो इच्छाअनुसारको प्रार्थना स्वीकार गर्न प्रसन्‍न हुनुहुनेछ र आफ्ना सन्तानहरूप्रति सबै आशिष्‌हरू प्रदान गर्नुहुन्छ अनि सबै किसिमका असल थोकहरू, जुन तिनीहरूले मागेका पनि हुँदैनन्, ती सबै तिनीहरूका निम्ति प्रवन्ध गरिदिनुहुनेछ। जजसले यस्तो सर्वज्ञानी परमेश्‍वरलाई कदर गर्दै उहाँको बारेमा दैनिक आफ्नो हृदयको गहिराइदेखि मनन गर्छ, तिनीहरू सृष्टिको उद्देश्यअनुसार जिएर छिट्टै नै खुसी र आनन्दित इसाईहरू हुनेछन्।

User Reviews