पुत्र परमेश्वर जो त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ, उहाँ कार्यान्वयनकर्ता परमेश्वर हुनुहुन्छ। परमेश्वर पिता योजनाकार हुनुहुन्छ, परमेश्वर पुत्र कार्यान्वयनकर्ता हुनुहुन्छ र परमेश्वर पवित्र आत्मा सामर्थ्य दिने हुनुहुन्छ। परमेश्वर पिता तेस्रो स्वर्गको सिंहासनमा विराजमान हुनुहुन्छ र उहाँले आफूलाई सृष्टिहरूको माझमा प्रकट गर्नुहुन्न (यूहन्ना १:१८), परमेश्वर पुत्रले सबै सृष्टिमाथि शासन गर्नुभई तिनीहरूको उचित प्रवन्ध (प्रशासन) गर्नुहुन्छ, र परमेश्वर पवित्र आत्माले परमेश्वर पुत्रलाई त्यसो गर्न सहायता गर्नुहुन्छ।
यो आपसी पारस्परिक सम्बन्धमा आधारित भएर, परमेश्वर पुत्र (येशू), जो त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ, उहाँ मानव इतिहासमा अस्तित्वमा रहनुभएको छ र उहाँले आफ्नो भूमिकाअनुसार मानिससँग प्रत्यक्ष सम्बन्ध निर्माण गर्नुभएको छ। परमेश्वर पुत्रले आफ्नै हातले सबै कुराहरूको सृष्टि गर्नुभएपछि (यूहन्ना १:३; कलस्सी १:१६; हिब्रू १:२), उहाँले सारा सृष्टिमाथि शासन गर्नुभएको छ, तिनीहरूको प्रवन्ध गर्नुभएको छ अनि तिनीहरूमाथि हस्तक्षेप गर्दै, तिनीहरूको जीवन र मृत्युमाथि रेखदेख गर्दै सबैको भाग्य र दुर्भाग्य निर्धारण गर्नुभएको छ। मानिसको रूपमा पृथ्वीमा आउनुभन्दा धेरै अघिदेखि येशूको उक्त अस्तित्वलाई नै येशूको पूर्व-अस्तित्व (Pre-existence of Jesus) भनिन्छ।
आफू सृष्टिभन्दा पहिलेदेखि नै अस्तित्वमा छु भनी स्वयम् येशूले भन्नुभयो (यूहन्ना १७:५)। उहाँ अल्फा र ओमेगा हुनुहुन्छ, जसको मतलब उहाँ मानव इतिहासको सुरुवात र अन्त हुनुहुन्छ (यशैया ४४:६; प्रकाश १:८,१७; २१:६; २२:१३)। येशू आजभन्दा करिब २,००० वर्षअघि मानिसको रूपमा आउनुभयो, तर उहाँ ३,००० वर्षअघि, ४,००० वर्षअघि, … र ६,००० वर्षअघि पुरानो करारमा स्पष्टरूपमा मानव इतिहासमा उहाँको अस्तित्व थियो। वास्तवमा, पुरानो करारको समयमा विभिन्न मानिसहरूसँग व्यक्तिगतरूपमा आमने-सामने भेट गर्नुहुने यहोवा परमेश्वर, येशू नै हुनुहुन्थ्यो।
येशू किन पुरानो करारको यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा हामी उहाँको नामबाट बुझ्न सक्छौँ। उत्पत्ति २:४ मा परमेश्वर (God) लेख्नुको सट्टामा बाइबलले यहोवा परमेश्वर (Jehovah God) अथवा यहोवा (Jehovah) प्रयोग गरेको छ, जसको अर्थ “करार बाँध्नुहुने परमेश्वर” हो। उहाँ हामीसँग करार बाँध्नुहुने परमेश्वर हुनुहुन्छ, जसको अर्थ उहाँ उद्धारकर्ता हुनुहुन्छ। उक्त यहोवा परमेश्वरले व्यक्तिगतरूपमा मानिसको स्वरूप धारण गरी हाम्रो मुक्तिदात भई आउनुभयो र हामी उहाँलाई प्रभु भनी पुकार्दछौँ।
यहूदीहरूले परमेश्वरको ‘यहोवा’ (YAHWEW) भन्ने हिब्रू नाउँलाई उच्चारण गर्ने साहस गरेनन्, किनभने त्यो अति नै पवित्र नाउँ हो भनी तिनीहरूले विश्वास गर्थे। त्यसैले तिनीहरूले उक्त नाउँबाट स्वर अक्षरहरूलाई हटाएर केवल YHWH लेखे। धर्मशास्त्रमा यो नाउँ देखापर्दा, त्यसलाई मुखले उच्चारण गर्नुको सट्टामा आदरसाथ आफ्नो टाउको झुकाउने गर्न थाले। उक्त यहोवा भन्ने नाउँलाई उच्चारण नै गर्न नसक्ने भएकोले तिनीहरूले परमेश्वरको ठाउँमा हिब्रू भाषाको एडोनाइ (Adonai) भनेर लेखे, जसको अर्थ ‘मेरो प्रभु’ (My Lord) हुन्छ।
उक्त एडोनाइ भन्ने हिब्रू नाउँलाई प्रथम पटक सेप्टुआजिण्टमा ‘कुरिओस्’ (Kurios) भनेर अनुवाद गरियो, जसको अर्थ प्रभु (Lord) हुन्छ (सेप्टुआजिण्ट भनेको हिब्रू पुरानो करारको प्राचीन ग्रीक अनुवाद हो, Septuagint, 284-247 B.C.)। अहिले नयाँ करारमा हामी येशूलाई प्रभु (Lord) भनेर पुकार्दछौँ। त्यसको मतलब नयाँ करारको प्रभु येशू भनेको अरू कोही नभएर पुरानो करारको यहोवा (YAHWEW) परमेश्वर नै हुनुहुन्छ।
आफू पुरानो करारको यहोवा परमेश्वर हुँ भन्ने सत्यता येशूले आफ्ना चेलाहरूलाई र तत्कालीन यहूदी अगुवाहरूलाई गवाही दिनुभयो। उहाँले अब्राहामलाई भेट्नुभयो (इ.पू. २१६६) र व्यक्तिगतरूपमा तिनीसँग कुराकानी गर्नुभयो (उत्पत्ति १२:१; १८:१-३३; २२:१-२; यूहन्ना ८:५६)। उहाँले नै पुरानो करारका अगमवक्ताहरूलाई (इ.पू. ८५०-४५०) पठाउनुभएर मूर्तिहरूको सेवा गर्ने इस्राएलीहरूलाई चेताउनी दिनुभयो (मत्ती २३:३७)। एलियाको समयदेखि (इ.पू. ८५०) मलाकीको समयसम्म (इ.पू. ४५०) सृष्टिको उद्देश्यलाई बिर्सेर बेबिलोनी धर्मको मूर्तिहरूको सेवा गर्ने इस्राएलीहरूलाई हप्काउनको निम्ति अगमवक्ताहरू पठउने स्वयम् येशू हुनुहुन्थ्यो। तिनीहरूले मूर्तिपूजा गर्न रोकोस् भन्ने हेतुले उहाँले ती अगमवक्ताहरूलाई पठानुभएको थियो।
यहूदी अगुवाहरूले यो कुरा सुनेर अचम्भित भए। ५० वर्ष पनि नपुगेको येशूले अब्राहामलाई भेट्नुभएको (यूहन्ना ८:५७) कुरा तिनीहरूले बुझ्न सकेनन्। वास्तवमा त्यो मानवीय समझभन्दा बाहिरको कुरा थियो। येशूले तिनीहरूलाई अझै यसो भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु” (यूहन्ना ८:५८)। यो कुरा सुनेपछि येशूलाई हान्न तिनीहरूले ढुङ्गा उठाए तर येशू लुक्नुभयो। येशू परमेश्वर पुत्र हुनुहुन्छ भन्ने कुरा तिनीहरूले विश्वास नगरेका हुनाले येशूले भन्नुभएको कुरा तिनीहरूले स्वीकार गर्न सकेनन्। अर्को कुरा के हो भने यहूदी धर्मबाट प्रभावित भएका चेलाहरूको लागि पनि येशूले भन्नुभएको उक्त कुरा बुझ्न गाह्रो भएको हुन सक्छ।
यस विषयमा अझै खोजतलास गर्ने हो भने येशू पुरानो करारको समयमा अस्तित्वमा हुनुहुन्थ्यो भन्नेबारेमा बाइबलमा थुप्रै प्रमाणहरू पाउन सकिन्छ। उहाँ शालेमको राजा, मल्कीसेदेकको रूपमा पुरानो करारमा हुनुहुन्थ्यो (धार्मिकताका राजा, उत्पत्ति १४:१८: हिब्रू ७:१-३); त्यसैगरी मिश्रदेशबाट निस्केपछि इस्राएलीहरूको निम्ति पानी उत्पन्न गर्ने चट्टान पनि येशू नै हुनुहुन्थ्यो (प्रस्थान १७:६; गन्ती २०:८–१२; व्यवस्था ३२:५१-५२; १ कोरिन्थी १०:४)। येशू ख्रीष्टको निम्ति दु:ख-कष्ट भोग्दा मोशा आनन्दित भएका थिए (हिब्रू ११:२४-२६)। शारीरिकरूपमा आफूभन्दा ६ महिना कान्छो भए तापनि येशू तिनीभन्दा अघिबाटै हुनुहुन्थ्यो भनी बप्तिस्मा दिने यूहन्नाले गवाही दिए (यूहन्ना १:१५)। पुरानो करारको मोशाको व्यवस्था अनि अगमवक्ताहरू र भजनको पुस्तकमा लेखिएका हरेक कुरा उहाँकै बारेमा हुन् भनी स्वयम् येशूले गवाही दिनुभयो (लूका २४:२७,४४; यूहन्ना ५:३९)।
यहोवा परमेश्वरको रूपमा अस्तित्वमा रहनुहुँदा पुरानो करारमा येशू विभिन्न नाउँहरूमा देखा पर्नुभयो; जस्तै: यहोवा यिरे (उत्पत्ति २२:१४); यहोवा निस्सी (प्रस्थान १७:१५); सर्वशक्तिमान परमेश्वर (प्रस्थान ६:३); योहवा शालोम (न्यायकर्ता ६:२४); परमप्रधान (भजन ९१:१); गोठालो (भजन २३:१); गढ र किल्ला (भजन १४४:२); स्यारोनको गुलाव, बेसीँको लिली फूल (श्रेष्ठगीत २:१); इम्मानुएल (यशैया ७:१४), मानिसहरूलाई ठेस लगाउने चट्टान (यशैया ८:१४), अचम्मका सल्लाहकार, शान्तिको राजकुमार (यशैया ९;६), सर्वशक्तिमान परमप्रभु (यशैया १:९), इस्राएलको ज्योति, आगो (यशैया १०:१७), सनातनका चट्टान (यशैया २६:४), अल्फा र ओमेगा (यशैया ४४:६), उद्धारक (यशैया ४३:१४), इस्राएलका महाराजा र उद्धारक र सर्वशक्तिमान् परमप्रभु (यशैया ४४:६), दोषबलि (यशैया ५३:१०), जैतुनको रूख (होशे १४:६), र बचाउने सामर्थी परमप्रभु (सपन्याह ३:१७) आदि।
परमेश्वर पुत्र जो त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ, उहाँ पुरानो करारमा विभिन्न नाउँहरूमा देखा पर्नुभयो, उहाँले अचानक आफ्नो नाउँ ‘येशू’ (Jesus) भने घोषणा गर्नुभयो। येशू नाउँको अर्थ, ‘जसले आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनुहुन्छ’ भन्ने हो (मत्ती १:२१), जसको मतलब मुक्तिदाता (Savior) हो। उहाँ अरू कोही नभएर यशैया अगमवक्ताले बताएका (इ.पू. ७००) इम्मानुएल परमेश्व नै हुनुहुन्छ (यशैया ७:१४; मत्ती १:२३)।
तसर्थ, येशू केवल नयाँ करारको येशू हुनुहुन्न। पुरानो करारको सबै कथाहरू येशूको बारेमा हो। पुरानो करारमा हामीले नबुझेका खण्डहरूलाई नयाँ करारमा दाँजेर हेर्दा, पुरानो करारका घटनाहरू सबै येशूको बारेमा हुन् भनी हामी महसुस गर्न सक्नेछौँ (यशैया ३४:१६)। हामी पुरानो करार र नयाँ करारमा येशूमाथि ध्यान केन्द्रित गरेर हेर्दैछौँ भने हामीले साँचोरूपमा परमेश्वरको इच्छा बुझ्नेछौँ र ती दुवै खण्डमा येशूको उपस्थितिलाई अनुभव गर्दछौँ।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को पुस्तकहरू अनुवाद गर्दा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ।