AMI Nepal

Letter to Philemon

Letter to Philemon

Letter to Philemon
BY AMI Nepal
29 Dec 2024

पावलले फिलेमोनलाई लेखेका पत्रको पृष्ठभूमि

हामी पावलले लेखेको चाखलाग्दो पत्र फिलेमोनमा आइपुगेका छौँ। योभन्दा अघिका तीन वटा कैदबाट लेखेका पत्रहरू फिलिपी, एफिसी र कलस्‍से मण्डली अथवा सेवकाइलाई केन्द्र बनाएर समूहलाई लेखेका पत्रहरू थिए। तर यो अन्तिम अर्थात् चौथो पत्रचाहिँ पावलले फिलेमोनलाई लेखेको व्यक्तिगत पत्र हो। यो पत्र कलस्‍से निवासी फिलेमोनलाई लेखेको व्यक्तिगत पत्र हो भने फिलेमोन को हुन् त?  उनी कलस्‍से निवासी व्यापारी थिए जसका धेरै नोकरचाकर अर्थात् दासहरू थिए। उनी पावलको प्रचारबाट विश्‍वासमा आएका थिए। कलस्‍से सहरमा भएका पावलका चेलाहरूमध्ये उनी महत्वपूर्ण चेला थिए। अनि धनी भएको कारण पावलको सेवकाइमा आर्थिक सहायाता पनि गर्थे होलान्, जसको कारण उनी पावलका सेवकाइमा सहकर्मी बन्‍न पुगे। उनकी श्रीमती मण्डलीको सेवामा एकदम लगनशिल महिला थिइन्। त्यसैले पावल उनको श्रीमतीको नाम पनि २ पदमा उल्लेख गर्छन्, जसको नाम अप्फिया हो। उनीहरू सबैजना अर्खिप्पसको घरमा भेला भएर संगति गर्ने गर्थे अर्थात् कल्लसीको मण्डली अर्खिप्पसको घरमा थियो। जहाँ मुख्य अगुवाहरूको रूपमा फिलेमोन थिए। यो सबै जानकारीहरू फिलेमोनको पत्र १ देखि ३ पद सम्ममा पाउन सकिन्छ।

अब ओनेसिमस को हुन् त? ओनेसिमस फिलेमोनका एक जना दास थिए। परमेश्‍वरको योजना भएकोले ओनिसिम फिलेमोनका घरबाट भागे। रोमी कानुनअनुसार यदि कुनै दास मानिकको घरबाट भाग्यो भने मालिकसँग उसलाई मार्ने अधिकार हुन्थ्यो। यो मानिस कलस्‍सेबाट भागेर रोममा पुगे अनि सायद तुखिकसको सहायताबाट उनले सुसमाचार सुनेको हुनु पर्छ (पावल त्यतिबेला झ्यालखानमा थिए)। परमेश्‍वरको योजनाअनुसार ओनेसिमसले प्रभुमा विश्‍वास गरे। अनि तुखिकसले उनलाई पावलकहाँ ल्याए अनि सोधपुछ गर्दा उनी त कलस्से सहरका फिलेमोनका दास रहेछ भन्‍ने थाहा भयो। पावलले भने, “फिलेमोन मेरो चेला हो।” त्यसपछि ओनेसिमसले पावललाई आफू कलस्‍सेमा फर्केर गई फेरि फिलेमोनको सेवामा रहने र त्यहाँ भएका दासहरूलाई सुसमाचार सुनाउने इच्छा व्यक्त गरे। ओनेसिमसले आफ्नो हृदयको इच्छा पावललाई व्यक्त गरेर भने कि मलाई मेरो मालिकको घरमा फिर्ता गएर उहाँको साथमा रहेर दासहरूको बिचमा सेवकाइ गर्न सहायता गर्नुहोस्। परमेश्‍वरले दास र कमजोरहरूलाई पनि प्रेम गर्नुहुन्छ भन्‍ने सत्यता हामी यहाँ देख्छौं।

पावलले ओनेसिमसको कुरा सुने त्यसपछि के गरे?  पावलले फिलेमोनलाई विशेष व्यक्तिगत पत्र लेखे। पावलले पत्रमा त्यो जवान मानिसलाई क्षमा गर्न र सेवकाइको सहकर्मीको रूपमा स्वीकार गर्न अनुरोध गरे। पावलले तुखिकसलाई ओनेसिमसको साथमा फिलेमोनको घरमा गएर पत्र दिनू भने किनकि उनले नै एफिसी र कलस्‍सेका मण्डलीहरूलाई लेखिएका पत्रहरू लिएर जान लागेका थिए। पावलले ओनेसिमसको साथमा गएर सबै कुरा व्याख्या गर्नू भनी तुखिकसलाई महत्वपूर्ण मिसनको कामको निम्ति नियुक्त गरे। यसरी तुखिकसले पावलको पत्र बोकेर फिलेमोनको घरमा गए। अनि ओनिमलाई क्षमा गरेर स्वीकार गर्न अनुरोध गरे। यो सबै काम पावलको अनुरोधमा तुखिकसले गरेका थिए। तुखिकसको साथ लागेर ओनेसिमस रोमबाट कलस्से सहरमा गए। उनीहरू कलस्से जाने क्रममा एफिसीमा पसेर कलस्‍सेतिर गए।

अब पावलको उक्त छोटो पत्रलाई हेरौँ। पावल जहिले पनि आफ्नो परिचयबाट सुरु गर्दछन्। उनी फिलेमोनलाई लेख्छन् कि म येशू ख्रीष्‍टको कैदी पावल हुँ। पावलले तिमोथीलाई प्राय: मेरो छोरा भन्‍ने गर्थे तर यहाँ मेरो भाइ भनी लेखेका छन्, किनकि पछि उनले फिलेमोनलाई पनि भाइ लेख्‍ने थिए जसले गर्दा उनीहरू दुवै जना पावलको नजरमा बराबरी हुन् भनी देखाउन सजिलो हुन्थ्यो। जसको कारण फिलेमोनलाई हौसला मिल्ने थियो किनकि उनले पावलको नजरमा म र तिमोथी समान रहेछु भनी महसुस गर्नेछन्। त्यसैकारण पावलले तिमोथी र फिलेमोन दुवै जनालाई मेरो भाइ भनी सम्बोधन गरेका छन्।

यो परिचय पछि अभिवादन लेख्दछन्। यहाँ उनी फिलेमोनलाई मेरो प्यारो भाइ अनि मेरो सहकर्मी भनी सम्बोधन गर्दछन्। योचाँहि पावलले उनीसँगको घनिष्ट सम्बन्धलाई प्रकट गरेका हुन्। फिलेमोनलाई सम्बोधन गरेपछि पावलले उनकी पत्‍नीको नाम पनि उल्लेख गर्छन्। किनकि ओनेसिमसलाई स्वीकार गर्ने कि नगर्ने भनी निर्णय गर्नको निम्ति त्यहाँ उनकी पत्‍नीको साथ र भूमिका महत्वपूर्ण थियो। पावलले प्राय: अरू पत्रहरूमा पत्‍नीको नाम उल्लेख गरेका छैनन् तर यो पत्रमा हामी देख्छौँ कि उनले त्यसो गरेका छन्। उनले मेरी बहिनी अप्फिया भनी लेख्छन्। असल अगुवाले सेवकाइमा महिलाहरूको स्थान र भूमिकालाई राम्रोसँग बुझ्‍न सक्‍नुपर्छ। त्यतिमात्र होइन, हुर्कदैगरेको विश्‍वासीको पारिवारिक अवस्थालाई विशेष ध्यान दिनुपर्छ।

त्यहाँ अर्खिप्पस भन्‍ने मानिसको नाम पनि उल्लेख छ जो त्यो मण्डलीका घरबेटी थिए। उनी पनि एकदमै प्रभावशाली व्यक्ति थिए। त्यसैले ओनेसिमसलाई स्वीकार गर्नको निम्ति फिलेमोनको स्वीकार, अप्फियाको स्वीकार र अर्खिप्पसको स्वीकारको आवश्यकता पर्थ्यो। त्यतिमात्र नभएर त्यो मण्डलीका विश्‍वासीहरूको पनि स्वीकार चाहिन्थ्यो अनि मात्र ओनेसिमस त्यहाँ पुनर्स्थापित हुन सक्थ्यो।

त्यसैले पावलले निकै बुद्धिमानीसाथ यस पत्रमा फिलेमोन, अप्फिया, अर्खिप्पस र मण्डलीका सबैलाई नम्रतापूर्वक अभिवादन पठाएका छन्। उनी लेख्दछन कि तिमीहरूमा अनुग्रह रहोस अनि परमरश्‍वर पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई शान्ति मिलोस्। यसरी पावलले पत्र सुरु गर्छन्। उनले अभिवादनपछि अरू कुराहरू लेख्दछन्। उनको लेखाइको अर्को तहचाहिँ धन्यवाद र प्रार्थना हो। ४ देखि ६ पदमा मेरा प्रार्थनामा जब तिमीहरूलाई सम्झन्छु तब म मेरा परमेश्‍वरलाई सँधै धन्यवाद दिन्छु भनेर लेखेका छन्। यसले यो जनाउछ, “हे फिलेमोन, म यहाँ कैदमा भए पनि सँधै तिमीलाई सम्झन्छु र तिम्रो निम्ति प्रार्थना गर्छु। म तिमीलाई धेरै प्रेम गर्छु किनकि तिमी मेरा साँचो चेला हौ। मैले प्रभु येशू माथिको तिम्रो विश्‍वास र सन्तहरू माथि तिम्रो प्रेम र सेवाको बारे सुनेको छु। तिमी धनी छौ अनि तिम्रा धेरै दासहरू छन् र पनि तिमी नम्र र प्रार्थना गर्ने व्यक्ति छौ। तिमीले मण्डलीको विश्‍वासीहरूलाई धेरै प्रेम गर्छौ।”

पावलले यी सबै कुराहरू फिलेमोनलाई उत्साह दिन लेखेका हुन्। किनकि उनलाई त्यतिबेला फिलेमोनको सहायता चाहिएको थियो। तसर्थ उत्साह दिनु अगुवाको कर्तव्य हो। म प्रार्थना गर्छु कि तिमीले प्रचार गरेको सुसमाचारले धेरै फल फलाउन सकोस्। यस्तो प्रार्थना र उत्साहको कुरा सुन्दा फिलेमोनलाई पक्‍का पनि आनन्द महसुस भयो होला। मलाई तिमीले गरेको प्रेम र सहायताको निम्ति धन्यवाद छ किनकि त्यसले मलाई धेरै आनन्द र सान्त्वना मिलेको छ। त्यतिमात्र होइन, तिम्रो कामद्वारा सबै सन्तहरू र मेरो हृदय ताजा भएको छ। पावलले यसरी तारिफ गरेपछि बल्ल आफूले माग्‍न चाहेको कुराहरू लेख्दछन्।

उनी लेख्छन्, कि म वृद्ध पावल अनि येशू ख्रीष्‍टको कैदी मेरो छोरो ओनेसिमसको निम्ति तिमीलाई निवेदन गर्दछु। पावलले ओनेसिमसलाई छोरा भनेको देख्दा फिलेमोन छक्‍क परे होलान्। पहिले ऊ तिम्रो निम्ति बेक्म्‍मा थियो तर अहिले तिम्रो नम्ति र मेरो निम्ति काम लाग्‍ने भएका छन्। पावल चाहान्थे, कि जसरी भए पनि फिलेमोनले ओनेसिमसलाई स्वीकार गरून्। पहिले यिनी तिम्रो निम्ति बेकम्मा भए पनि अहिले तिमी र मेरो दुवैको निम्ति कामलाग्‍ने भएको हुनाले यिनलाई म तिमीकहाँ पठाउँदैछु। तीनलाई मसँग रोममा राख्‍न चाहान्थे तर तिमीसँग रहेर सेवा गर्नको निम्ति म उनलाई तिमीकहाँ पठाउँदैछु। यदि तिमीले मलाई तिम्रो सहकर्मी सम्झन्छौ भने ओनेसिमस पनि तिम्रो सहकर्मी हो र अब उप्रान्त ऊ तिम्रो दास होइन प्रभुमा भाइ हो। यदि तिनी केही कुरामा ऋणी छन् भने सो मेरो हिसाबमा राखिदेऊ र म त्यो तिरिदेनेछु। यहाँ पावलले चाखलाग्दो कुरा लेख्छन्, कि तिमी पनि मेरो ऋणी छौ। मैले तिमीलाई सुसमाचार सुनाएँ अनि तिमीले नयाँ जीवन पायौँ र अहिले तिमी मण्डलीका अगुवा भएका छौँ। यदि ओनेसिमसले तिमीलाई केही तिर्नु पर्ने छ भने तिमीले पहिले मलाई तिर अनि म तिमीलाई तिरिदिनेछु। तिमीले ओनेसिमसलाई स्वीकार गर्‍यौ भने मैले तिमीबाट आशा गरेको थोक पाउनेछु जसले मेरो हृदयलाई ताजा गराई दिन्छ। कृपया उनलाई स्वीकार गर। अनि मलाई यो पुरा भरोसा छ, कि तिमीले मैले मागेको कुरा दिनेछौ। त्यति मात्र होइन तिमीले मैले मागेको भन्‍दा पनि बढी गर्न सक्‍नेछौ। उनी लेख्दछन्, कि फिलेमोन अहिले म कैदमा छु तर एक दिन म तिमीकहाँ आउनेछु । मेरो निम्ति पाहुना कोठा तयार गरी राख। यसको अर्थ चाहिँ तिमीले मैले भनेको आज्ञापालन गरेको छौ कि छैन म हेर्न आउनेछु भनेको हो।

अन्तमा उनी लेख्छन् कि रोममा भएका मेरा भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्। यहाँ इप्राफास, अरिस्तार्खस, मर्कूस, डेमास र लूकाको नाम उल्लेख गरिएको छ। त्यसको मतलब यी भाइहरूले पनि मसँगै तिमीलाई यो कुराको निवेदन गर्दैछन् भन्‍न खोजिएको हो। प्रभुयेशूको अनुग्रह तिमीमा रहोस्।

यो पत्रले हामीलाई पावलको अगुवापन र चरित्रको बारेमा धेरै कुराहरू सिकाउँछ। यो पत्र अध्ययन गरेर पावलको जस्तै अगुवपनको हृदय, शैली र अभिषेक तपाईंलाई मिल्न सकोस। परमेश्‍वरले सबैलाई आशिष् दिनु भएको होस्। आमेन् !

User Reviews