बाइबलीय मानवशास्त्र’ भनेको धर्मशास्त्र बाइबललाई आधार मानेर गरिने मानिसको अध्ययन हो। यो विषय धेरै महत्वपूर्ण छ किनभने हामी मानिस भएकोले गर्दा हामी को हौँ भन्ने बारेमा बाइबलले के बताउँछ भनी बुझ्नु अति आवश्यक छ। यदि हामीले मानिसको बारेमा बुझेनौँ भने परमेश्वरको बारेमा पनि राम्रोसँग बुझ्न सक्दैनौँ। मानवशास्त्रलाई विभिन्न भागहरूमा वर्गिकरण गरिएको छ; जस्तै: पुरातात्विक मानवशास्त्र (Archeological Anthropology); साँस्कृतिक मानवशास्त्र (Cultural Anthropology); बाइबलीय मानवशास्त्र (Biblical Anthropology) आदि।
पुरातात्विक मानवशास्त्र :- यस विषयअनुसार अध्ययन गर्दा पुरातात्विक र ऐतिहासिक कुराहरूको खोज र अनुसन्धान गरी मानिसको अध्ययन गर्ने गरिन्छ। पुरानो समयका मानिसहरूले प्रयोग गरेका घर, भाँडाकुडा, टेबल, कुर्सी, उनीहरू बस्ने कोठाहरू र उनीहरूले प्रयोग गर्ने घरायसी तथा कृषिजन्य औजारहरूलाई उत्खनन तथा अनुसन्धान गर्दै पुरातात्विक मानवशास्त्र अध्ययन गरिन्छ। त्यस्ता सामाग्रीहरूको अध्ययनबाट ती मानिसहरू कति समय अगाडि संसारमा बाँचेका थिए, तिनीहरूको जीवनशैली कस्तो थियो, तिनीहरू कस्ता किसिमका घरहरूमा बस्थे, कस्ता किसिमका खानेकुराहरू खान्थे, कुन-कुन देवी-देवताहरूलाई पुज्थे र केकस्ता औजार तथा हतियारहरू प्रयोग गर्दथे भन्ने बारेमा खोजी गरिन्छ। बाइबलीय पुरातात्विक मानवशास्त्रीहरू इस्राएल तथा संसारको विभिन्न भागहरूमा गई त्यहाँका घरहरू, चिहानहरू र गुफाहरूजस्ता महत्वपूर्ण ठाउँहरू उत्खनन गरी मानिसको विषयमा अध्ययन गर्ने गर्दछन्। त्यस किसिमको अध्ययनबाट पुरानो करारका मानिसहरू कस्ता ठाउँहरूमा बस्दथे, कस्तो खानेकुरा खान्थे अनि कस्ता सामानहरू प्रयोग गर्थे भन्ने जानकारीहरू उपलब्ध हुँदछ। यस किसिमका पुरातात्विक अध्ययन र अनुसन्धानद्वारा हजारौँ वर्षपहिले बाइबलमा उल्लिखित घटनाहरू सत्य प्रमाणित हुँदै आइरहेका छन्।
साँस्कृतिक मानवशास्त्र :- यसअनुसार मानिसको अध्ययन गर्दा कुनै विशेष क्षेत्रको सँस्कृतिलाई गहन रूपमा अध्ययन गरिन्छ। नेपालीहरूको विषयमा बुझ्न चाहेमा नेपालको सँस्कृति अध्ययन गर्नुपर्छ। यो अध्ययन मानिसको सँस्कृति, भाषा, जीवनशैली, धर्म र परम्परासँग सम्बन्धित छ। नेपालमा १०० भन्दा बढी जातिका मानिसहरू बसोबास गर्ने गर्दछन्। तिनीहरूको आफ्नै विशेष र मौलिक भाषा, सँस्कृति र मूल्य-मान्यताहरू छन्। पूर्वीय भागमा बस्ने र पश्चिमी भागमा बस्ने मानिसहरूको बेग्लाबेग्लै भाषा र सँस्कृति छ अनि तिनीहरूले परम्परागत रूपमा मानिआएको धर्महरू पनि फरकफरक छन्। साँस्कृतिक मानवशास्त्र अध्ययन गर्दा तिनीहरूले बोल्ने भाषा र तिनीहरूले सनातनदेखि मान्दै आएको धर्मलाई ध्यान दिनु पर्दछ। बाइबलीय सेमिनारहरूमा सिकाइने मुख्य विषयहरूमध्ये साँस्कृतिक मानवशास्त्र पनि एक हो। बाइबल स्कुलका विद्यार्थीहरूले कुनै विशेष जातिलाई केन्द्रबिन्दु बनाएर तिनीहरूमा सुसमाचार पुर्याउनको निम्ति तिनीहरूको सँस्कृति र जीवनशैलीलाई अध्ययन गर्ने गर्दछन्। मिसेनरीहरूका लागि पनि यो अध्ययन आवश्यक छ।
बाइबलीय मानवशास्त्र :- यसअनुसार मानिसको अध्ययन गर्दा बाइबललाई मुख्य आधार बनाइन्छ। यो पुस्तकमा हामीले यही तरिकाद्वारा मानिसको अध्ययन गर्नेछौँ; र यी प्रश्नहरूको बाइबलले कसरी उत्तर दिन्छ भनी हामी केलाउँदै जानेछौँ; जस्तै: मानिस को हो? मानिस कडाँबाट आयो? मानिसलाई कसले सृष्टि गर्यो? मानिस कसरी बनिएको छ? मानिस कसरी जीवित अवस्थामा आयो? मानिसको कामकर्तव्यहरू के-के हुन्? मानिसको जीवनको उद्देश्यहरू केके हुन्? कसरी मानिसको जीवन अर्थपूर्ण हुन्छ? मानिसको अन्तिम गन्तव्य कहाँ हो? आदि। इसाईहरूको जीवनमा यी प्रश्नहरूले वशेष अर्थ राख्दछ किनभने मानिद्वारा परमेश्वरले आफ्नो इच्छा र उद्देश्यहरू प्रकट गर्नुहुन्छ भनी बाइबलले बताउँछ। त्यतिमात्र होइन मानिसलाई परमेश्वरले आफ्नै स्वरूप र प्रतिरूपमा बनाउनुभयो। यसर्थ हामी यसलाई विस्तृतरूपमा अध्ययन गर्नेछौँ।
मानवशास्त्री र दार्शनिकहरूले मानिसको जीवनलाई विभिन्न किसिमले व्याख्या गरेका छन्; जस्तै: मानिस औजारजस्तो हो; मानिस जनावरजस्तो हो; मानिस यौनिक जीवजस्तो हो; मानिस आर्थिक जीवजस्तो हो। अब यी भनाइहरूलाई हामी छोटकरीमा चर्चा गर्नेछौँ।
मानिस औजारजस्तै हो : – यो सिद्धान्तअनुसार मानिस भौतिक औजार, उपकरण अथवा मेसिनजस्तो मात्र हो। कुनै कुरा उत्पादन गर्न अथवा कुनै उद्देश्य पूरा गर्न स्वस्थ मानिसले कडा परिश्रम गर्नुपर्छ। जसरी मेसिन बिग्रियो भने काम गर्न सक्दैन, त्यसरी नै अस्वस्थ मानिसले पनि काम गर्न सक्दैन। यसर्थ स्वस्थ मानिस महत्वपूर्ण हुन्छ, तर अस्वस्थ र वृद्ध मानिसहरू महत्वहीन हुन्छन्। विशेषगरी यो विचारधारा कम्युनिस्ट अथवा साम्यवादीहरूले अपनाउने सिद्धान्त हो। कार्ल मार्क्स र लेनिनलाई पछ्याउनेहरूले यसो भन्ने गर्दछन्, “ईश्वरको अस्तित्व छैन। धर्म अफिमको नसाजस्तै हो। मानिस औजारजस्तो काम गर्ने जीव हो। शरीर स्वस्थ र शक्तिशाली रहुन्जेल मानिसले काम गर्न सक्छ तर शरीर कमजोर, बिरामी र बुढो हुँदै गएपछि काम गर्न नसक्ने भएकोले त्यसको कुनै महत्व हुँदैन।”
यस्तो सिद्धान्तमा विश्वास गर्ने शासकहरूले आफ्ना जनतालाई कामगर्ने औजारको रूपमा प्रयोग गरे। बाँच्नको निम्ति आधारभूत कुराहरू दिएर ती शासकहरूले मानिसहरूलाई आफ्नो स्वार्थको लागि निर्दयतासाथ प्रयोग गरे। मानिसहरू परमेश्वरको स्वरूपमा सृष्टि गरिएका प्राणीहरू हुन् भन्ने कुरालाई तिनीहरूले कुनै मतलव गरेनन् बरु तिनीहरूलाई भौतिक औजारजस्तो ठानी कठिन परिश्रम गर्न लगाए। उनीहरूले मानिसको चाहना र भावनाको वास्ता गरेनन्। त्यस्ता निरङ्कुस शासकहरूले मानिसहरूलाई पशुजस्तै व्यवहार गरे। दासप्रथा यसको एउटा उदाहरण हो। विश्वको इतिहासलाई पल्टाउने हो भने यस किसिमको क्रूर घटनाहरूको बारेमा थुप्रै पानाहरूमा पढ्न सकिन्छ।
मानिस जनावरजस्तो हो : – यो सिद्धान्तअनुसार मानिस जनावर अथवा खेत जोत्ने गोरुजस्तो हो। जनावरबाट केही फाइदा लिने हो भने त्यसलाई खुवाएर मोटो अनि बलियो पार्नुपर्छ। गाईभैंसीलाई खुवायो भने दुध दिन्छ, खसीलाई खुवायो भने मासु दिन्छ, कुखुरालाई खुवायो भने अण्डा दिन्छ, भेडालाई खुवायो भने ऊन दिन्छ, र कुकुरलाई खुवायो भने घरको सुरक्षा गर्छ। यस्ता अवधारणाहरूबाट प्रभावित भएकाहरूले मानिसलाई खाना, लत्ताकपडा, ज्याला, पुरस्कार, इनाम र घुस दिएर उसको जीवनलाई नियन्त्रण गर्न खोज्छन्। जसरी जनावरलाई खाना खुवाउँदा फाइदा लिन सकिन्छ, त्यसरी नै मानिसलाई खुवाउँदा आफूले चाहेको काम गराउन सकिन्छ भनी तिनीहरूले विचार गर्ने गर्दछन्। ‘कसैबाट केही लिनु छ भने उसलाई केही दिनुपर्छ’ भन्ने तिनीहरूको सिद्धान्त हो। यहाँ प्रेम, दया, कृपा र अनुग्रहजस्ता कुराहरूको कुनै महत्व हुँदैन। जनावरलाई खाना दिएसम्म त्यसले काम गर्छ, र खाना रोकिदियो भने काम पनि रोकिन्छ। खाना रोकिदिनु भनेको जनावरलाई अनुशासनमा राख्न सजायँ दिनु हो। जनावरलाई नियन्त्रणमा राख्न कुन बेला खाना दिनुपर्छ र कुन बेला खाना रोकिदिनुपर्छ भन्ने कुरामा मालिकले विशेष ध्यान दिने गर्दछ। त्यसैगरी मानिसलाई नियन्त्रणमा राख्न कुन बेला कुन कुरा कसरी दिनुपर्छ भनी जानेका व्यक्तिहरूले अरूलाई आफ्नो वशमा राखेका हुन्छन्। अहिले एक्काइसौँ शताब्दीको धनी र विकसित मुलुकहरूले गरिब मुलुकका मानिसहरूलाई यही सिद्धान्तअनुसार आकर्षक तलब र सुविधाहरू दिएर तिनीहरूलाई आफूले चाहेअनुसार प्रयोग गरिरहेका छन्। तर उनीहरूले आफूलाई कसरी नियन्त्रण गरिरहेका छन् भनी नबुझेका मानिसहरू चिनीमा झिँगा रमाएझैँ सांसारिक सुख-सुविधामा रमाइरहेका देखिन्छन्। परमेश्वरको वचनबाट प्रकाश पाएका इसाईहरूले यस विषयलाई गम्भीर रूपमा लिनु आवश्यक छ। बलियो रहुञ्जेल प्रशस्त दुध दिने गाई, भारी बोक्ने गधा, खेत जोत्ने गोरु र सुरक्षा दिने कुकुरहरू रोगी र बुढो भएपछि सहरका गल्लीहरू र गाउँका डाँडापाखामा छटपटाइरहेका हुन्छन्। यहाँ याद गर्नुपर्ने कुरा के हो भने त्यस्तो अवस्थामा पशुहरूले आफ्नो सृष्टिकर्ता परमेश्वरको खोजी गर्दैनन्। तिनीहरूले परमेश्वरको आराधना पनि गर्दैनन्। सधै अरूमाथि भरपर्ने परजीवीजस्ता मूर्ख मानिसहरूको अवस्थालाई त्यस्ता पशुहरूसँग तुलना गर्न सकिन्छ किनभने तिनीहरूले परमेश्वरको सट्टामा पशुहरूलाई पजिरहेका हुन्छन्। अरूको सहारा र इसारामा जीवन बिताइरहेका मानिसहरूले यसबाट राम्रो पाठ सिक्न सक्छन्।
मानिस यौनिक जीवजस्तो हो : – मानिसलाई यौनक्रियाद्वारा नियन्त्रण गर्न सकिन्छ भनी यो सिद्धान्तले बताउँछ। प्राय: अरूलाई प्रभाव पार्न मानिसहरू सुन्दर देखिन खोज्छन्। यो सिद्धान्त महिला र पुरुष दुवैमा लागु हुन्छ। विशेषगरी महिलाहरू राम्रो कपडा पहिरेर, कपाल मिलाएर, अनुहारमा क्रिम-पाउडर लगाएर, अनि त्यसैअनुसार सुहाउँदो जुत्ता लगाएर चिटिक्क पर्न चाहन्छन्। पुरुषहरू पनि सुहाउँदो पोसाक, जुत्ता र घडी लगाएर सजिने कुरामा कम छैनन्। त्यसको साथै आजभोलि महँगो गहना अनि महँगो मोबाइल बोक्ने रहर कसलाई नहोला र? यसरी बाहिर देखिने कुराहरूमा रुचि राखेर थुप्रै रकम खर्च गर्नुको अर्थ र औचित्य के हो? अरूलाई देखाउनको लागि मानिसहरूले किन यति धेरै प्रयत्न गरिरहेका छन्? किन अहिले संसारमा ग्ल्यामर यति धेरै फस्टाउँदै गइरहेका छन्? किन महिलाहरूको पोसाकको आकार दिनप्रतिदिन सानो हुँदै गइरहेको छ? किनभने त्यस्ता कुराहरूले अरूमाथि आफ्नो प्रभाव र नियन्त्रण जमाउन सकिन्छ भनी उनीहरू विचार गर्दछन्। यी सबै कुराहरू यौनसँग जोडिएका पक्षहरू हुन्। अश्लील साहित्य, अश्लील फोटो र भिडियो, इन्टरनेटमा व्याप्त त्यस्ता यौनजन्य सामाग्रीहरूले गर्दा नेपालजस्तो मुलुकमा सामुहिक बलत्कार र हत्याजस्ता अपराधहरू बढ्दै गएको तथ्यलाई कसैले नकार्न सक्दैन। यदि खाना, सुन्दरता र यौनको मोजमस्तीले मानिस सन्तुष्ट हुन चाहन्छ भने पशु र मानिसमा के भिन्नता हुन्छ र? यौन र सुन्दरताजस्ता शारीरिक अभिलाषाले आफ्नो स्वार्थ पूरा गर्न खोज्ने साँघुरो विचारधाराका मानिसहरूले आत्मिक र ईश्वरीय कुराहरू खोजी गर्न सक्दैनन्।
मानिस आर्थिक जीवजस्तो हो : – योचाहिँ पूँजीवादी सिद्धान्त हो। मानिसलाई रुपैयाँ-पैसाले नियन्त्रण गरेको हुन्छ भनी यो सिद्धान्तले बताउँछ। रुपैयाँ-पैसाले खानेकुरा, लगाउने कुरा, बस्ने घर, गाडी, जग्गा-जमिनजस्ता कुराहरू किन्न सकिने भएकोले यो सिद्धान्तलाई पछ्याउने मानिसहरूका लागि धन-सम्पत्ति सबै थोक हो। धन-सम्पत्तिद्वारा मानिसले मान-प्रतिष्ठा, सुख-सुविधा, शिक्षा, स्वास्थ्य, खुसी, आनन्द प्राप्त गर्न खोज्छन्। धनीहरू रमाइलो गर्न विदेश भ्रमण गर्न जान्छन्। तैपनि तिनीहरूलाई अशान्ति, असुरक्षा, डर, सङ्का, निराश र तनावजस्ता कुराहरूले पछ्याइरहेका हुन्छन्। अहिले पृथ्वीमा करिब आठ अरब मानिसहरूले सास फेरिरहेका छन्। तीमध्ये केबल दश जना मानिससँग पृथ्वीमा भएको ५०% भन्दा बढी धन-सम्पत्ति छ र पनि उनीहरू खुसी र सन्तुष्ट हुन सकेका छैनन्। संसारको सबैभन्दा बढी धनाढ्य हुन तिनीहरू प्रतिस्प्रर्धा गर्दैछन्। धन कमाउने होडबाजीमा मानिसले अमूल्य जीवन खर्च गर्दैछ। यो मृगतृष्णाले मानिसलाई मृत्युसम्मै छोडेको छैन। त्यसैले साँचो खुसी, आदन्द, शान्ति र सुन्तुष्टता कहाँबाट आउँछ भन्ने कुरालाई इसाईहरूले गम्भीर रूपमा मनन गर्न आवश्यक छ।
माथि उल्लिखित सिद्धान्तहरूमध्ये तपाईं कुन सिद्धान्तलाई पछ्याउनु हुन्छ? वास्तवमा साँचो इसाईहरूले परमेश्वरको वचनमा रहेर यी सबै विचारधाराहरूलाई मनन गरी सन्तुलित ढङ्गमा समय, परिस्थिति र अवस्थाअनुसार सम्पूर्णताको ईश्वरीय अवधारणलाई अनुसरण गर्नु उचित हुनेछ। हामी अरूको न्याय गर्नभन्दा आफ्नो जीवनलाई नियलेर परमेश्वरलाई प्रसन्न पार्ने जीवन जिउने कोसिस गरौँ। अब आउँदा पाठहरूमा हामी बाइबलीय मानवशास्त्रलाई अझै गहन रूपमा अध्ययन गर्दैजानेछौँ।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को पुस्तकहरू अनुवाद गर्दा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ।